• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीका अधिकांश सामूदायिक विद्यालयमा पठनपाठनको अवस्था ठीक नरहेको भन्ने जनगुनासो नयाँ होईन । कतै समयमा विद्यालय नखुल्ने, कतै टिफिन पछि पढाई नै नहुने अनि कतै बालबालिकाको कक्षा कोठामा शिक्षक नै सुत्ने गरेका विषय सार्वजनिक भईसकेका छन् ।
यस बाहेक पनि अनेकों कमजोरी पक्ष रहेपनि तिनमा सुधार गर्न सम्बन्धित पक्षले सरोकार नराख्दा विकृति कम हुनुको साटो झांगिदो गएको भनी अभिभावकहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । विद्यालयहरुको जिम्मेवारी स्थानीय तह मातहत रहेको छ । तर स्थानीय तहका जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारीले विद्यालयहरुमा कसरी पठनपाठन चलिरहेको छ भन्ने थाहा पाउनका लागि जुन रुपमा अनुगमन निरीक्षणलाई तिब्रता दिन आवश्यक थियो त्यो नभएका कारणले मनपर्दी बढेको भन्ने अभिभावकहरुको आरोप छ ।  विद्यालयहरुको जिम्मेवारी पाएका स्थानीय तहका जनप्रतिनिधिले बुझ्न के आवश्यक छ भने यो हजारौं बालबालिकाहरुको भवष्यसित जोडिएको विषय हो र यसमा कुनै पनि प्रकारको आलटाल वा सुस्ती साध्न मिल्दैन । पठनपाठन ठीकसँग नहुँदा ती बालबालिकाको सुनौलो भविष्य बिग्रन्छ भन्ने कुरालाई जिम्मेवार जनप्रतिनिधिहरुले गम्भीरताका साथ लिन जरुरी छ । विकृति सामुदायिकमा मात्र नभई निजी विद्यालयहरुमा पनि नरहेका होईनन् ।
जिल्लामा कतिपय निजी विद्यालय अनुमति बिना नै चलेका, कतिले तल्लो कक्षाको स्वीकृति लिएर माथिल्लो कक्षाको समेत पठनपाठन गराउँदै आएका तथा कतिले सामुदायिक विद्यालयबाट परीक्षाको फारम भराएर आफ्नो विद्यालयमा कक्षा चलाउने गरेका गोरखधन्दा पनि उदांगिएका छन् । यस्ता विकृति बढ्दा पनि स्थानीय तहले चाहीँ कानमा तेल हालेर सुतिरहने हो भने जिल्लाको शैक्षिक स्तर कसरी उँभो लाग्न सक्ला ?