नयाँ शैक्षिक सत्र सुरुवात सँगै विद्यालय भर्ना अभियान पनि यति बेला चल्न थालेको छ । सप्तरीमा पनि यो अभियान सञ्चालन भईरहेको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता एवम् गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता’ भन्ने नाराका साथ नयाँ भर्ना अभियान सुरु भएको छ जसलाई सकारात्मक रुपमा लिनु पर्दछ ।
विद्यालयका शिक्षक, कर्मचारी, व्यवस्थापन समितिको समेत सहभागितामा सञ्चालित यस्तो अभियानबाट विद्यालयमा नयाँ बालबालिका भर्ना लिन आउने सम्भावना बढी रहन्छ नै । यसरी विद्यार्थी संख्यामा बढोत्तरी हुनु सुखद पक्ष पनि हो । तथापि वर्षेनी सञ्चालन हुने यस्ता अभियानका बाबजुद पनि सप्तरीका धेरै जसो सामूदायिक विद्यालयमा विद्यार्थी संख्या निकै कम रहेको वास्तविकता कसैबाट लुकेको विषय होईन । यसको एक प्रमुख कारण बीचमै विद्यालय छोड्ने (ड्रप आउट) को समस्या पनि हो । भर्ना लिएर पनि बालबालिकाले बीचमै विद्यालय छोड्ने क्रम रोकिएन भने भर्ना अभियानकै सार्थकता नरहन सक्दछ । अतः बालबालिकालाई भर्नाका लागि जसरी प्रयत्न गरिँदै आएको छ । त्यसैगरी उनीहरुलाई विद्यालयमा कसरी टिकाएर राख्न सकिन्छ भन्ने कुरालाई पनि प्राथमिकताका साथ हेर्नु पर्ने हुन्छ । बालबालिका विद्यालय आउन छाडे भने त्यसको बारेमा खोजखबर र जानकारी लिनु पर्ने हुन्छ । यसका साथै विद्यालयमा नआउनाको कारण पत्ता लगाई फेला परेका समस्या समाधान सँगै कमजोरी पक्षमा सुधारका लागि प्रयत्नशील रहनु पर्ने हुन्छ ।
विद्यालयमा विद्यार्थीको दैनिक उपस्थितिका बारेमा चासो लिने, पठनपाठनमा निरन्तरता राख्ने र बालमैत्री वातावरणमा पढाई गर्ने गरियो भने यसले विद्यालयमा बालबालिकालाई टिकाएर राख्नमा सघाउन पुग्नेछ । यसका अतिरिक्त मौलिक खाजा तथा टिफिनका बेलामा खेलकूदका लागि आवश्यक सामग्रीको व्यवस्थापनमा समेत ध्यान दिन आवश्यक छ ।