न्यूज टुडे
राजविराज, १९ बैशाख ।
सप्तरीको सुरुङ्गा नगरपालिका ५ बनिगामा एक दलित परिवारमाथि निर्घात कुटपिट भएको छ । स्थानीय दलित बस्तीका रामचन्द्र रामको परिवारलाई छिमेकीहरुको एक समुहले निर्घात कुटपिट गरेको हो ।
पुरानो रिसइवका कारण २५–३० जनाको समूहले कुटपिट गरेको पीडित रामले आरोप लगाए। उनले स्थानीय दुर्गानन्द चौधरी, चन्द्र चौधरी, नित्यानन्द चौधरी, शर्मिला चौधरी लगायतको समूहले पुरानो रिसइवी, डिहबार थानको पूजा तथा भोजभतेरको विषयमा कुटपिट गरेको बताए ।
दलितहरुको बसोवास रहेको टोलदेखि पूर्वपट्टिको बस्तीबाट आएको समूहले बिहीबार राती करिब ८ बजेतिर आफ्नो घरमा आएर गालीगलौज, धाकधम्की दिंदै कुटपिट गरेको रामले जानकारी दिए ।
एकोहोरो गालीगलौज गर्न थालेपछि सम्झाउन गएका भाइ ५३ वर्षीय हरि रामलाई एक्कसी कुटपिट गर्न थालेपछि छुट्याउन गएकी उनकी श्रीमती सुकमैन देवी राम र बिल्टौनदेवी रामलाई समेत कुटपिट गरेको रामचन्द्रले बताए ।
‘तत्काल प्रहरीलाई बोलाएपछि कुटपिट गर्नेहरु हिँडे’ उनले भने ।
कुटपिटमा घाइते भएका हरि, उनकी श्रीमती सुकमैनदेवी, सुगिलाल रामको लहानस्थित माँ धमिनी हस्पिटलमा उपचार भइरहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।