मधेस प्रदेशका उधोग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलिले स्थानीय स्तरमा पर्यटन विकासको सम्भावना बोकेका क्ष्रेत्रको प्रबर्द्धनका लागि स्थानीय सरकारले अग्रणी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । उधोग वाणिज्य तथा पर्यटन मन्त्रालय मधेस प्रदेश तथा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशद्वारा राजविराजमा बिहिवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पर्यटन विकासमा स्थानीय सरकारको भुमिकामा जोड दिएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा मञ्चासीन प्रमुख अतिथि मन्त्री अलिसहित अतिथिगण । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै मन्त्री अलिले देश विकासको स्तम्भको रुपमा रहेको होटल तथा पर्यटन व्यवसायलाई संरक्षण र सम्बर्द्धन गर्ने पहिलो दायित्व स्थानीय सरकारको भएको बताए । उनले स्थानीय सरकारको सामर्थ्यले नभ्याउने कुतर्क अगाडि ल्याएर स्थानीय सरकार पर्यटन विकासको पूर्वाधार निर्माण कार्यदेखि पन्छिन नमिल्ने बताए ।
मन्त्री अलिले स्थानीय साकारले पर्यटन प्रबर्द्धनको विषयमा कुनै चासो नराखेको टिप्पणी गरे । उनले स्थानीय सरकारको उदासीनताले होटल तथा पर्यटन व्यवसायको अपेक्षित विकास हुन नसकेको जिकिर गरे । प्रदेश तथा संघ सरकारले जस्तै स्थानीय सरकारले पनि पर्यटन विकासको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिदै मन्त्री अलिले निजी लगानीमा पर्यटन विकासमा योगदान गर्ने व्यवसायीहरुलाई तीनै तहको सरकारले प्रोत्साहन गर्नु नितान्त जरुरी रहेको बताए ।
उनले आफुले जिम्मेवारी पाएपछि पर्यटन विकासमा ठूलो बजेट विनियोजन गरेको बताउँदै पर्यटन विकासका लागि कानून बनाएर काम गरिरहेको उल्लेख गरे । पर्यटन ऎन ल्याइसकिएकोले नियमावली बनाएर कार्यान्वयनमा आउनसाथ मधेस प्रदेशको आठै जिल्लाको पर्यटन प्रबर्द्धन हुने विश्वास व्यक्त गरे ।
मन्त्री अलिले सप्तरी जिल्लाको पर्यटन तथा समग्र विकासमा पहिलेदेखि निरन्तर लागिपरेको स्मरण गर्दै आफ्नो प्रयासले केहि विकास भएपनि जनअपेक्षा अनुसार अझै हुन नसकेको बताए ।
पुर्व सिंचाइ मन्त्री उमेश कुमार यादवले मधेस प्रदेश सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरे । उनले पूर्वाधार विकासका योजनाहरु किनबेच हुँदा समेत मधेस सरकारले मौन समर्थन गर्नु लज्जास्पद भएको बताए । उनले सप्तरीकै मुख्यमन्त्री र उधोग वाणिज्य तथा पर्यटनमन्त्री हुँदा समेत जिल्लाको पर्यटन विकासमा ध्यान नदिएको आरोप लगाए ।
सबै क्षेत्रमा औपचारिकता पूरा गरी भत्ता पचाउने संस्कृति रहि आएको चर्चा गर्दै पूर्वमन्त्री यादवले सप्तरीको प्रसिद्ध धार्मिक पर्यटकीय क्ष्रेत्रको मात्र अबलोकन गरेर कार्यक्रमले सार्थकता नपाउने बताए । सप्तरीको विकासमा घोतलिएर लाग्न सुझाव दिदै उनले धार्मिक, पुरातात्त्विक, राजनीतिक, जल तथा साँस्कृतिक पर्यटन विकासमा समेत जोड दिए ।
छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले पर्यटन विकासको सबालमा सबैपक्षसंग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्यटन विकासमा नागरिक स्तरबाट साथ सहयोगको नितान्त आवश्यक हुने बताए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पर्यटन प्रबर्द्धनका लागि प्रचारप्रसार अति जरुरी रहेको बताए । पर्यटकहरुलाई सेवासुविधा र सुरक्षाको विश्वास दिलाउन सकेमात्र होटल तथा पर्यटन विकासले गतिलिने विचार व्यक्त गर्दै उनले पर्यटन विकासमा सम्पुर्ण सरोकारवालाहरुको सहयोग अपरिहार्य हुने उल्लेख गरे । प्रजिअ दाहालले देश तथा विदेशबाट भित्रीने पर्यटकको सुरक्षामा कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, होटल तथा पर्यटन व्यवसायी महासंघका पूर्व अध्यक्ष एवम् राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश कुमार चौधरी, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होट्ल म्यानेज्मेन्ट शाखा कार्यालय बर्दिवासका प्रमुख शिववेन्द्र मल्लिक, नेपाल होटल एण्ड पर्यटन व्यवसायी महासंघ मधेस प्रदेश सल्लाहकार मोहन शर्मा लामिछाने लगायतकाले पर्यटन प्रबर्द्धन सम्बन्धि धारणा राखे ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका महासचिव बैकुण्ठ सापकोटाद्वरा संचालित कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद साहले गरे ।
घुमौ मधेस बुझौं मधेस’ भन्ने मुल नाराकासाथ मधेस प्रदेशको पर्सा जिल्लादेखि सुरु गरिएको पर्यटन अवलोकन कार्यक्रम छिन्नमस्ता मन्दिर, हनुमाननगरको कालो हनुमान मन्दिर, भारदहको कंकालिनी मन्दिर, रुपनगरको विष्णु मन्दिर हुँदै तिरहुतको लोहजारा तालको अवलोकन गरि बिहीवारको कार्यक्रम स्थगन गरिएको आयोजक समितिका शैलेश कुमार चौधरीले जानकारी दिए ।