न्यूज टुडे
राजविराज, १४ बैशाख ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका-१० स्थित बदगमामा आइतबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुने अन्य दुईजनाको समेत सनाखत भएको छ । दुर्घटनामा उदयपुर त्रियुगा नगरपालिका-२ खैजनपुरकी २२ वर्षीया कविता चौधरी र झापा गौरदह-२ का ३९ वर्षीय अनिल राईको घटनास्थलमै मृत्यु भएको हो ।
उदयपुरको गाइघाटबाट विराटनगरतर्फ जाँदै गरेको प्र१–०१–००१ ख ३४२० नम्बरको यात्रुबस अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको र उपचारका क्रममा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार दुइजनाको घटना स्थलमै र गम्भीर घाइते भएका सप्तरीको सप्तकोशी नगरपालिका-१ का ७५ वर्षीय रत्नबहादुर मगरातीको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी २९ जना घाइते भएका छन् । उनीहरुको विराटनगरका अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बस चालक झापा मेची नगरपालिका-७ का अमृत दर्जीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।