न्यूज टुडे
राजविराज, ११ बैशाख ।
सप्तरीको राजविराजमा संचालित तेस्रो मधेश प्रिमियर लिग( एपपिएल)काे उपाधि मिथिला वारियर्सले हात पारेको छ । पवि माविकाे मैदानमा बिहिवार भएकाे फाइनल खेलमा सप्तरी बलानबिहुललाई ५ विकेटले पराजित गर्दै मिथिला वारियर्सले उपाधि कब्जा गरेको हो ।
जितसंगै मिथिलाले ९ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको बलानबिहुलले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । बलानका कप्तान एवम् राष्ट्रिय टिमका खेलाडी विवेक यादवले २ चाैका र ४ छक्काकाे मद्दतले सर्वाधिक ४५ रन बनाए । लाेकेश बमले ४१, सुजन थपलियाले २८ र फिर्दाेष अन्सारीले १५ रन बनाएका थिए ।
बलिङतर्फ मिथिला वारियर्सका वसन्त खत्रीले ३, शेर मल्ल र कुशल भुर्तेलले समान २-२ र नन्दन यादवले १ विकेट लिए ।
मिथिलाले १८ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ५४ रनकाे लक्ष्य पूरा गर्यो । मिथिलाका लागि कुशल भुर्तेलले सर्वाधिक ५८ रन बनाएपछि टिम जित नजिक पुगेको थियो । यसैगरी, अर्का ब्याट्सम्यान रवि साह ४४ र बसिर अहमदले २५ रन बनाए । बलिङतर्फ विवेक यादव र अरनिकाे यादवले समान २-२ विकेट लिए ।
फाइनल खेलमा प्लेयर अफ दि म्याच कुशल भुर्तेल घाेषित भए । १ लाख ५१ हजारकाे नगद पुरस्कारसहित जनकपुर सनराइजर्सका विशाल पटेल प्लेयर अफ दी सिरिज भए । यसैगरी ,जनकपुरकै आशिष शेख बेस्ट ब्याट्सम्यान भए भने मिथिला वारियर्सका शेर मल्ल बेस्ट बलर भए । दुवै जनालाई नगद ५१-५१ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी उपविजेता सप्तरी बलानबिहुलले ४ लाख १ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताका विजेता-उपविजेता टिमका खेलाडीलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सहितका अतिथिले नगद पुरस्कारसहित ट्र्फी प्रमाणपत्र प्रदान गरेका थिए ।