न्यूज टुडे
राजविराज,०९ बैशाख।
राजविराज नगरपालिकाभित्रका बिटौरी र ब्लक जग्गाधनीहरुले राजविराज नगरपालिकामा धर्ना बस्नेसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । विटौरी तथा ब्लक जग्गाधनी पीडित संघर्ष समितिले राजविराजमा मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
घोषित संघर्षका कार्यक्रम अन्तर्गत बैशाख १८ गतेदेखि २२ गते सम्म चरनब्द्व दैनिक दबाब मुलक कार्यक्रम रहेको छ ।
कार्यक्रम अनुसार २०८२ बैशाख १८ गते राजविराज नगरपालिका भित्रका घर/घर र पसल पसलमा कालो झण्डा झुण्डयाउने, १६ गते स्थानीय गजेन्द्र चौकमा मागका पक्षमा हस्ताक्षर संकलन अभियान चलाउने, २१ गते बिहान १० बजे नापी कार्यालय राजविराजमा १ घण्टा धर्ना दिने र २२ गते बिहान १० बजे राजविराज नगरपालिका कार्यालयमा १ घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको संघष समितिका संयाेजक इर्साद अन्सारीले पत्रकार।सम्मेलनमा बताए ।
उनले राजविराज नगरपालिकाको बिटोरी र ब्लक जग्गाको लालपूर्जाबाट बन्चित रहेका ५ हजार भन्दा बढी परिवारलाई अविलम्ब लाल पूर्जा प्रदान गर्नुपर्ने, राजविराज बसपार्क अविलम्ब संचालन गर्नुपर्ने, राजविराज हटियामा निर्माणाधीन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्ब सकाएर व्यापारीलाई हस्तान्तरण गर्नुपर्ने माग रहेको बताए ।
यसैगरी खाडो नदी तटबन्ध क्षेत्रका जग्गाहरूको नापी अविलम्ब गर्नुपर्ने, राजविराज-कंचनपुर सड़क खण्डको निर्माण कार्यमा देखिएका समस्या अविलम्ब समाधान गर्नुपर्ने, सीमानाकामा विषादी परिक्षणका लागि क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, लामखुट्टे नियन्त्रणका लागी नगर क्षेत्रमा अविलम्ब औषधी छर्कने व्यवस्था गर्नुपर्ने, सप्तरीको सिमानाका क्षेत्रमा वर्षों देखि बन्द रहेका छोटी भंसार कार्यालयहरू अविलम्ब संचालन गर्नुपर्ने माग राखी आन्दोलन उत्रिएको संयोजक अन्सारीले जानकारी दिए ।
उनले शान्तिपूर्ण संघर्षको कार्यक्रमबाट माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । दोश्रो चरणको जारीआन्दोलनबाट पनि सुनुवाइ नभए बैशाख २४ गते समिक्षा गरि तेस्रो चरणको आन्दोलन घोषणा गरिने उनले उद्घोष गरे ।