• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

ताप्लेजुङमा गुडिरहेको जीपमा विजुलीको तार खस्दा ४ जनाको मृत्यु, २ जना घाइते

ताप्लेजुङमा गुडिरहेको जीपमा विजुलीको तार खस्दा ४ जनाको मृत्यु, २ जना घाइते
न्यूज टुडे
राजविराज, ०८ बैशाख  । 
ताप्लेजुङको  फुङलिङबाट पाथीभरातर्फ जाँदै गरेको जीपमा सोमबार विहान विजुलीको तार खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुर्घटनामा झापा भद्रपुर नगरपालिका- १५ का ७० वर्षीय विनोद पौडेल, ६९ वर्षीया सरिता पौडेल, ललितपुर नगरपालिका- १६ कि आद्या आचार्य र जीप चालक फुङलिङ- १० का दुर्गा भट्टराईको मृत्यु भएको हो । 
दुर्घटनामा घाइते मध्ये एकजना गम्भीर छन् भने अर्का एक जनाको अवस्था सामान्य छ । घाइते दुई जना पनि सोही परिवारका आमाछोरा हुन् । आमा सविना पौडेल आचार्य र छोरा नौ वर्षीय भाव्यन आचार्यको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक चालक बाहेक तीन जना एकै परिवारका सदस्य हुन् । 
स्थानीय प्रत्यक्षदर्शीका अनुसार सेवारो चोक पुग्दा एक जना बालक सडकमा दौडिँदै गरेको देखेर आफूहरूले गाडी रोक्दा करिब ५० मिटर अगाडि अर्को गाडी जलिरहेको थियो । 
‘गाडी दनदनी बल्दै थियो । त्यति बेला हामीले केही गर्न सक्ने अवस्था भएन । गाडीको डेढ फिट जति नजिकमा एक जना महिलाले हात हल्लाएको देख्यौं’ एक स्थानीयले भने, ‘त्यसपछि त्यता गयौं । उहाँलाई तानेर वर ल्यायौं । अरू गाडीमा भएकालाई निकाल्न सकिने अवस्था थिएन ।’ 
‘यात्रु लिएर जाँदै गरेको गाडी रोकेर बालक र ती महिलालाई लिएर सदरमुकाम फर्कियौं । सुकेटार आइपुग्दा एम्बुलेन्स आयो र एम्बुलेन्समा बिरामी हालेर अस्पताल आयौं ।’ उनले भने 
चालक सहित ६ जना सवार रहेको जीपमा विजुलीको तार खसेर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको तथा घटना बारे थप अनुसन्धान भइरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।