सामुदायिक वन उपभोक्ता महासंघ सप्तरीको पाँचौ जिल्ला परिषद सम्पन्न भएको छ । महासंघ सप्तरीका अध्यक्ष देवनारायण साहको अध्यक्षता तथा कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका वीच जिल्ला परिषद सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै मेयर गुप्ताले वन संरक्षणका लागि स्थानीय सरकारसंग सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे । पर्यटन प्रबर्द्धन गर्नका लागि आफू तयार रहेको बताउँदै उनले यसका लागि नगरपालिकाले लगानी समेत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सामुदायिक वन उपभोक्ता महासंघका मधेस प्रदेशका अध्यक्ष सोम प्रसाद शर्माले नीतिगत त्रुटिले वनपैदवारको उपयोगमा उपभोक्ताहरुलाई समस्या उत्पन्न भएको टिप्पणी गरे । उनले वनपैदवार, सुख्खा ढलापलाको विवाद तथा सामुदायिक वन उपभोक्ता समितिको सिमाङ्कन विवादको विषय तथा पर्यटन विकासका लागि कार्यविधिमा समस्या भएको हुनाले छलफल गरि कार्यविधि संशोधन गरि अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
कञ्चनरुप नगरपालिका १२ स्थित सुन्दरी सामुदायिक वन धरमपुरको भवनमा आयोजित कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कृष्णदेव चौधरी,डिभिजन वन कार्यालय सप्तरीका प्रमुख जिल्ला वन अधिकृत वेचन चौधरी, लालभित्ते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु प्रसाद चौधरीले सामुदायिक वनको अवधारणा राम्रो भएको तर राज्यको तर्फबाट बेवास्ता गरेको बताउँदै उनीहरुले सामुदायिक वनको माध्यमबाट रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।
सामुदायिक वन उपभोक्ता महासंघका लक्ष्मीकान्त चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत ओमकार प्रमाणीले गरे ।
कार्यक्रममा सप्तकोसी, कञ्चनरुप, शम्भुनाथ, सुरुङ्गा, खडक नगरपालिका, अग्नीसाईर कृष्णासवरन, रुपानी गाउँपालिका गरी ७ स्थानीय तहका विभिन्न सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सप्तरीमा १ सय ३७ सामुदायिक वन उपभोक्ता समुह रहेपनि १ सय १४ वटा मात्र सक्रिय रहेको सामुदायिक वन उपभोक्ता महासंघ सप्तरीले जनाएको छ ।