‘न्यूज टुडे
राजविराज, १९ चैत ।
राज्य पत्रकार र सञ्चार गृहको सुरक्षाप्रति गम्भीर नदेखिएको राजविराजमा मंगलबार आयोजित एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा ‘पत्रकार र सञ्चार गृहको सुरक्षा राज्यको दायित्व’विषयक पेशागत संघसंस्था तथा संठनसंग अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा बोल्दै वक्ताहरुले व्यवस्था परिवर्तनको आन्दोलनमा पत्रकारहरुको अग्रणी भुमिका रहेपनि राज्य पत्रकार र सञ्चार गृहको सुरक्षाप्रति गम्भीर नदेखिएको टिप्पणी गरे ।
कार्यक्रममा बोल्दै प्रजातान्त्रिक प्राध्यापक संघ सप्तरीका अध्यक्ष उमेश कुमार यादवले पत्रकार र सञ्चार गृहको सुरक्षा गर्ने दायित्व सरकारको भएको जिकिर गरे । लोकतान्त्रको हिमायती पत्रकारमाथिको आक्रमण कुनै पनि दृष्टिकोणले सहनीय नहुने उल्लेख गर्दैन उनले नागरिक सर्वोच्चताको लागि अहोरात्र खट्ने पत्रकार र सञ्चार गृहको सुरक्षा गर्न राज्य पूर्ण असफल भएको टिप्पणी गरे ।
सप्तरी जिल्ला बार एशोसिएसनका सचिब रामएकवाल मण्डलले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको भावना विपरीत अगाडि बढ्दा यसको रक्षकहरुमाथीको आक्रमणको घटना वृद्धि भएको बताए ।मानवअधिकारका रक्षक पत्रकार नै भएको बताउँदै उनले पत्रकारमाथिको आक्रमण व्यवस्थामाथिको आक्रमण भएको उल्लेख गरे । पत्रकारलाई आगो लगाएर निर्मम हत्या र मिडियामाथिको आक्रमण गर्ने माथि कारबाहीको माग गर्दै उनले पत्रकार शुरेश रजकको परिवारले न्याय नपाएसम्म संघर्षका कार्यक्रमलाई निरन्तर दिन आग्रह गरे ।
मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलले गणतन्त्रको विकल्प निरंकुशतन्त्र हुनै नसक्ने बताए ।
‘लोकतन्त्रको आधार स्तम्भ लोकतन्त्र नै हो’ निरंकुश तन्त्र हुँदै सक्दैन’ उनले भने, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी नभएसम्म नागरिक स्वतन्त्र हुन सक्दैन ।’
व्यवस्था परिवर्तनका लागि पत्रकारहरुले खेलेको अग्रणी भुमिकाको स्मरण गराउँदै उनले योगदानको आधारमा राज्यले पत्रकारको सुरक्षा गर्न नसकेको बताए ।
नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वसभापति एवम् प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले सरकार पत्रकारको सुरक्षाप्रति उदासीन रहेको भन्दै आफ्नो सुरक्षा आफैले गरेर समाचार संकलनमा लाग्नुपर्नेमा जोड दिए ।
पूर्वसभापति मुरली प्रसाद यादवले सरकार पत्रकारहरुको सुरक्षाप्रति पूर्ण असफल भएको टिप्पणी गर्दै गणतन्त्रमा पनि पत्रकारले स्वतन्त्रताको अनुभुती गर्न नपाएको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष रामनारायण विश्वासले कार्यक्रमको उदेश्य बारे प्रकाश पार्दै लोकतन्त्रको रक्षा र पेशागत तथा भौतिक सुरक्षाका लागि पेशागत संघसंगठन एकजुट हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल प्रेस यूनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंहले पत्रकार रजकको हत्यारालाई कारबाही तथा संचार गृहमा तथा संचार उपकरणमाथीको क्षति उपलब्ध गराउन तथा घाइते पत्रकारहरुको उपचारको व्यवस्था मिलाउन जोडदार माग गर्दै सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव कृष्ण कुमार मण्डलले गरेका थिए ।
काठमाडौमा गत फगुन १५ गते एभिन्यूज टेलिभिजनकर्मी रजक राजावादीहरुको आन्दोलनमा समाचार संकलनको क्रममा आन्दोलनकारीहरुले उनलाई घरमा ढोका थुनेर बाहिरबाट आगो लगाएर निर्मम हत्या गरेका थिए ।