न्यूज टुडे
राजविराज, १८ चैत ।
राजावादीको आन्दोलनमा समाचार संकलन गर्न गएका पत्रकार शुरेश रजकलाई जीउँदै आगो लगाएर हत्या गर्ने हत्यारा तथा सञ्चार गृहमा आगजनी गर्नेलाई कारबाहीको माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत सरकारलाई ध्यानाकर्षण-पत्र बुझाइएको हो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाइएको थियो ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ दाहालले तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरे । ध्यानाकर्षण -पत्रमा पत्रकार रजकको हत्यारा तथा संचार गृह र पत्रकारहरुमाथी भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । यसैगरी पत्रकार रजकको परिवारलाई न्याय तथा संचार गृहमा भएको क्षतिपूर्ति तथा घाइते पत्रकारहरुको उपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नहरुलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा संचारमाध्यम र संचारकर्मीहरुको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि महासंघ माग गर्दछ ।’ महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण-पत्रमा एकसाता भित्र माग सम्बोधन गर्न आग्रह गर्दै सुनुवाइ नभए सरकार विरुद्ध देशव्यापी चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।
यसअघि शनिबार राजविराजमा पत्रकारहरुले विरोध र्याली प्रदर्शन गरेका थिए भने आइतबार हातमा कालोपट्टी बाँधेर कामकाज गरि विरोध गरेका थिए ।
काठमाडौमा शुक्रबार एभिन्यूज टेलिभिजनकर्मी रजक राजावादीहरुको आन्दोलनमा समाचार संकलनको क्रममा आन्दोलनकारीहरुले उनलाई घरमा ढोका थुनेर बाहिरबाट आगो लगाएर निर्मम हत्या गरेका थिए ।