न्यूज टुडे
राजविराज, १७ चैत ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालपट्टी स्थित रहेको रामजानकी मन्दिरका महन्थ बुद्धिलाल दासले मन्दिर निर्माणका लागि संघीय सरकारले विनियोजन गरेको बजेट आफुले गाउँपालिकाले मागेजति घुस कबोल नगर्दा अन्योल अवस्था राखेको आरोप लगाएका छन् । छिन्नमस्ता ३ स्थित सखडामा आइतबार आयोजित पत्रकार सम्मेलन बोल्दै उनले मन्दिर निर्माणका लागि आफ्नो पहलमा संघीय सरकारबाट उपलब्ध ६३ लाख रुपैयाँ योजनाको उपभोक्ता समिति बनाउन पटकपटक अनुरोध गर्दा ९ लाख घुस मागेको आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै महन्थ दासले मन्दिर निर्माणका लागि आएको बजेटबाट निर्माण कार्य सुरु गर्न माग गरे । आफूले ठुलो दुख गरेर ल्याएको बजेट फ्रीज गराउने पक्षमा गाउँपालिका रहेको आरोप लगाउँदै उनले मन्दिर निर्माण कार्य अविलम्ब सुचारु गर्नुपर्नेमा जोड दिए ।
बजेट बारे आफुले चासो राखेर खोजी गर्दा बजेट मन्दिर निर्माणमा लगाउने भए ९ लाख पहिले नै गाउँपालिकामा जम्मा गर्नुपर्ने सर्त अगाडि सारेको पत्रकार सम्मेलनमा महन्थ दासले बताए ।
‘बजेट खोजी गर्दै जाँदा फागुन ७ गते आफू एक्लैलाई गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले गाउँपालिकामा बोलायो, उसले दिएको समयमा गाउँपालिकामा उपस्थित भएँ” महन्थ दासले भने, अध्यक्ष चौधरी, उपाध्यक्ष राजुदेवी यादव, प्रमुख प्रशासकीय अधिकृत केशव झा, सिन्जी शाखा प्रमुखसहितका ५ जना एकै ठाउँमा थिए । उनीहरूले मन्दिर निर्माणको बजेट लिनेभए ९ लाख जम्मा गर्न भन्यो, पैसा दिन नसक्ने भनेपछि बजेट बारे अझै आफुलाई अन्योल राखेको छ ।’
पटकपटक गाउँपालिका गएर सोधिखोजी गर्दा योजना विक्री भइसक्यो भन्ने जवाफ मात्र पाएको उनले बताए ।
एक्लै जाँदा सुनुवाइ नभएपछि वडाका अगुवा, राजनीतिक कर्मी तथा सामाजिक अभियानतालाई चैत १० गते लिएर जाँदा उपभोक्ता बनाइसक्यो भनेपनि अहिलेसम्म काम सुरु नगरेको जानकारी दिए ।
स्थानीय कुलानन्द यादवले उपभोक्ता समिति र बजेटको कागजपत्र दिन भनी पटकपटक गाउँपालिका धाउँदा समेत उपलब्ध नगराएको गुनासो गरे ।
स्थानीय प्रमोद कुमार यादवले गाउँपालिकाबाट पारदर्शी काम नहुने बताउँदै पत्रकारहरुलाई बेथिति बारे कलम चलाई दिन आग्रह गरे ।
उक्त योजनामा सियाराम मण्डलको अध्यक्षतामा रामजानकी मन्दिर निर्माण कार्य उपभोक्ता समिति छिन्नमस्ता गाउँपालिका गठन गरिएको पाइएको छ । संघीय सरकारको पर्यटन पूर्वाधार विकास परियोजना अन्तर्गतको बजेट रहेको बुझिएको छ ।
बजेट कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृत झाले उपभोक्ता समितिलाई कार्यादेश दिएपनि काम भने सुचारु भएको छैन । गाउँपालिकाले ८०८१ फागुन ४ गतेदेखि २०८२ असार १० गतेसम्म काम सम्पन्न गर्न उपभोक्ता समितिलाई कार्यादेश दिएको पाइएको छ ।