• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महुली बजार धुलाम्य, आक्रोशित स्थानीयद्वारा निर्माण कम्पनीको सवारी नियन्त्रण

महुली बजार धुलाम्य, आक्रोशित स्थानीयद्वारा निर्माण कम्पनीको सवारी नियन्त्रण
न्यूज टुडे
राजविराज, १५ चैत । 
सडकमा उडेको धुलोले बजारनै प्रभावित भएको विरोधमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली बजारबासीले शुक्रबार सडक निर्माण कम्पनीको सवारी साधन नियन्त्रणमा लिएका छन् । अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष अशोक कुमार आचार्यको नेतृत्वमा रहेका आक्रोशित स्थानीयबासीले सडक निर्माण कम्पनीको सवारी १ घण्टा नियन्त्रणमा लिएका हुन् । 
सडक निर्माण कम्पनी र स्थानीयबासी वीच छलफल गरिदै । फोटो : न्यूज टुडे
लामो समयसम्म सडक खनेर अलपत्र छोडी  धुलो नियन्त्रणमा पनि चासो नदिएकाले आन्दोलनमा उत्रिनु बाध्य भएको स्थानीयले बताएका छन् । सडक खनेर अलपत्र अवस्थामा राख्दा बजार नै धुलाम्य भएपछि निर्माण कम्पनीलाई सडक निर्माण अगाडि बढाउन तथा धुलो नियन्त्रणमा पानीको प्रयोग गर्न पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनु बाध्य भएको वडा अध्यक्ष आचार्यले बताए ।
स्थानीय पत्रकार रामनाथ चौधरीले ५ बर्षदेखि सडकमा उडेको धुलोले विभिन्न रोगको सामना गर्नुपरेको बताउँदै सडक निर्माण तथा धुलो नियन्त्रण गर्ने ठोस प्रतिबद्धता नगरे थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । निर्माण कम्पनीको ध्यानाकर्षण गराउन संकेतिक रुपमा विहान ७ बजेदेखि ८ बजेसम्म विरोधको कार्यक्रम गरेको बताउँदै उनले शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरीए अनिश्चितकालीन सडक अवरुद्धसहितको आन्दोलन अगाडि बढाउने बताए ।
धुलो उडेर पसल संचालन गर्न कठिनाइ भएको तथा बजार पनि लगाउन नसकिएको स्थानीयको भनाइ छ । 
यसैबीच सडक निर्माणको ठेक्का पाएका चाइना रेल्वे इन्जिनियरिङ्ग ग्रुपका प्रतिनिधि र स्थानीयबासी वीच सडकमा धुलो नियन्त्रण गर्ने, सडक निर्माण कार्य अविलम्ब अगाडि बढाउने सहमतिपछि स्थानीयले नियन्त्रणमा लिएका सवारी साधन छोडिएको थियो । 
कंचनपुर- कमला चारलेनको सडक निर्माणको कार्य सातबर्ष पुग्दा समेत अधुरो रहँदा स्थानीयबासी, यातायात व्यवसायी मर्कामा परेका छन् । सडक निर्माण कार्य  सुस्त गतीमा हुँदा उक्त मार्ग भएर आवतजावत गर्ने यात्रुहरु सास्ती खेप्न बाध्य छन् ।