न्यूज टुडे
राजविराज, ०९ चैत ।
सप्तरी प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको ठूलो परिणाममा लागूऔषध गाँजा नष्ट गरेको छ । सप्तरीको राजविराज नगरपालिका १५ स्थित खाँडो खोलामा लगेर शनिबार आगो लगाएर ३८ क्वीन्टल १५ किलो गाँजा नष्ट गरेको हो ।
गत पुस २७ गते सप्तरीको बोदेबर्साईन नगरपालिका ३ बाट नियन्त्रणमा लिएको ७ क्वीन्टल २६ किलो र माघ २६ गते बलानविहुल गाउँपालिका १ चन्हीबाट बरामद भएको ६ क्वीन्टल ७० किलो गाँजा प्रहरीले डढाएर नष्ट गरेका छन् ।
राजविराज ९ स्थित मलेठबाट गत फागुन १९ गते बरामद गाँजा शुक्रवार नष्ट गरिएको तथा जिल्लाका विभिन्न स्थान बाट पक्राउ गरिएको कुल ३८ क्वीन्टल १५ किलो गाँजा नष्ट गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए । प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वको टोलीले मलेठ स्थित स्याउ गोदामबाट बरामद गरेको गाँजा स्थानीय पत्रकार तथा सरोकारवालाहरुको रोहवरमा आगो लगाएर नष्ट गरेको उनले जानकारी दिए ।
एसपी खतिवडा नेतृत्वमा रहेको टोलीमा गाँजा नष्ट समितिका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिष श्रेष्ठ, सप्तरी जिल्ला अदालत राजविराज, जिल्ला प्रशासन कार्यालय सप्तरी, राजविराज नगरपालिकाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्षसहित सप्तरीका विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
मलेठमा बरामद गाँजा राज नारायण साहको घरमा रहेको स्याउ गोदामबाट भेटिएको थिए भने चन्ही र बोदेबर्साईन ३ बाट नियन्त्रणमा लिएको गाँजा बेवासिसे अबस्थामा फेला परेको प्रहरीले बताएका छन् । गाँजा कसको हो भन्ने अहिले सम पत्ता लागि नसकेको तथा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।