न्यूज टुडे
राजविराज, ०४ चैत ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले माध्यमिक शिक्षा परिक्षा ( एसइई) को केन्द्राध्यक्ष गोलाप्रथाबाट तोक्नुपर्ने भनी सार्वजनिक गरेको अभिव्यक्ति प्रति ८ शिक्षक संगठनद्वारा घोर आपत्ति व्यक्त गरेका छन् । विभिन्न राजनीतिक दलसँग आवद्ध सप्तरीका ८ शिक्षक संगठनद्वारा सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सिंहको अभिव्यक्तको विरोध गरेका हुन् ।
शिक्षक संगठनद्वारा जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री सिंहले केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा निरीक्षक चयन गर्दा गोलाप्रथाद्वारा गर्नुपर्ने तथा यस्तो प्रक्रिया लागु नगरीए एसइई परिक्षाबाट अलग हुने भनी दिएको अभिव्यक्तिको निन्दा गर्दै घोर भर्त्सना गरेको छ ।
मुख्यमन्त्री सिंहले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै शिक्षक संगठनद्वारा जारी प्रेस विज्ञप्तिमा अविलम्ब फिर्ता लिन आग्रह गरिएको छ । विज्ञप्तिमा शिक्षकहरुले राखेको माग सम्बोधन नभए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएको छ ।
माग सम्बोधन नभए एसइई परिक्षा बहिष्कार गर्न बाध्य हुने चेतावनी दिदै विज्ञप्तिमा यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी मधेस प्रदेश सरकारले लिनुपर्ने उल्लेख छ ।