• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कांग्रेस-कम्युनिस्टबाटै व्यवस्थामाथि खतरा : उपेन्द्र

कांग्रेस-कम्युनिस्टबाटै व्यवस्थामाथि खतरा : उपेन्द्र
न्यूज टुडे
राजविराज,०३ चैत ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले  कांग्रेस-एमालेबाटै बर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा रहेको टिप्पणी गरेका छन् ।  जसपा तिरहुत गाउँपालिकाद्वारा आइतबार सप्तरीको तिरहुत गाउँपालिका-५ लोहजारामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रम मञ्चासीन अध्यक्ष यादवसहित नेतागण । फोटो : न्यूज टुडे

अध्यक्ष यादवले अहिलेको व्यवस्था समाप्त पार्न कांग्रेस-कम्युनिस्ट नै लागेको आरोप लगाए । बर्तमान राजनीतिक अस्थिरता कायम गराउने काँग्रेस र कम्युनिस्ट नै रहेको उनले जिकिर गरे । उनले काँग्रेस-कम्युनिस्टले बहुदलीय व्यवस्थालाई समाप्त पारी दुईदलिय व्यवस्था लाद्ने प्रयास गरिरहेको टिप्पणी गरे ।।
‘मुलुक राजनीतिक रुपले गम्भिर मोडमा आएको छ, र राजनीतिक अस्थिरताको मुल जड नै कांग्रेस-कम्युनिस्ट हो’ अध्यक्ष यादवले भने, ‘४६ सालपछि अहिलेसम्म ३५ वर्षमा ३७ वटा सरकार बन्यो र त्यसमा उनीहरुकै महत्वपूर्ण भूमिका रह्यो, शेरबहादुर देउवाले स्वंयम कांग्रेस फोडेर राजालाई सहयोग गरेको थिए अनि राजाले ०४६ सालको उपलब्धी आफ्नो हातमा लिए ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्र आउॅंदा पनि हरेक ६/६ महिनामा सरकार परिवर्तन भईरहनु अनुचित रहेको बताए । ‘यसको जिम्मेवार कांग्रेस/कम्युनिस्ट र माओवादी हो, राजनीतिक स्थिरता कायम राख्न सकेनन्’ उनले भने, ‘कांग्रेस-कम्युनिस्ट र माओवादी हमेसा संघियतालाई उल्ट्याउने भूमिका गरे अनि अहिले उनीहरु संघियता समाप्त पार्न दिन गनेर बसिरहेका छन् ।’
नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष यादव । फोटो : न्यूज टुडे
अध्यक्ष यादवले काँग्रेस – कम्युनिस्टको कुशासनले देश बर्बाद भएको बताए । अधिकाँश समय काँग्रेस कम्युनिस्टकै आलोचनामा खर्चिएका अध्यक्ष यादवले  ३५ बर्षको शासन कालमा सबैभन्दाबढी उधोग कलकारखाना, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र ध्वस्त भएको बताए ।  
उनले काँग्रेस र कम्युनिस्टको शासन कालमा भ्रष्टाचार चरम उत्कर्षमा पुगेको तथा देशले धान्नै नसक्ने गरि विदेशी ॠणमा चुर्लुम्म डुबेको बताए । 
काँग्रेस र कम्युनिस्टको कारण देश धरापमा परेको उल्लेख गर्दै अध्यक्ष यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई इंङित गर्दै मधेसी जनतालाई झुक्याउन रंगफेर्नेहरुबाट सचेत रहन आग्रह गरे । 
केन्द्रीय सचिब शैलेन्द्र प्रसाद साहले जसपा नेपालकै कारण देशमा संघीयता आएको र देश विकासले गति लिएको बताए ।  उनले बर्तमान शासन व्यवस्थालाई संरक्षण गर्दै देशको समग्र विकासका लागि संघीयता पक्षधर एकताबद्ध हुनुपर्नेमा जोड दिए । 
जसपा नेपालका केन्द्रीय प्रबक्ता मनिस सुमनले एमाले-काँग्रेस नेतृत्वका सरकारको अक्रमणीताका कारण प्रतिगामी शक्तिहरु सलबलाउनु थालेको बताए ।  गणतन्त्रमा सबैले बोल्ने र विरोध गर्ने स्वतन्त्रता पाउने भन्दै उनले बर्तमान व्यवस्थाकै कारण राजावादीहरुले आफ्नो विचार स्वतन्त्रतापूर्वक राख्न पाएको बताए । 
उनले निरंकुश शासकको पक्षमा बोल्नेहरुलाई  एकात्मक व्यवस्थाले पार्ने असरको विषयमा सोच्न आग्रह गरे । 
जसपा नेपाल तिरहुत गाउँपालिका उपाध्यक्ष राजाराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य अनिरुद्व प्रसाद सिंह यादव, केन्द्रीय सदस्य पुनम यादव, प्रदेश कार्यकारिणी सदस्य दिनेश कुमार यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, कञ्चनरुप नगरपालिका अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार सुदम्वर यादव, नवप्रवेशी मोखेलाल मण्डल,लक्ष्मण खंगलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 
जसपा नेपाल मधेस प्रदेश सदस्य छेदी अरगरियाद्वारा संचालित कार्यक्रममा स्वागत सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष एवम् तिरहुत गाउँपालिकाका निबर्तमान अध्यक्ष हेमन्त कुमार बहडखेर ( मनोज ) ले गरे ।
कार्यक्रममा सयौंको संख्यामा एमाले- काँग्रेसका स्थानीय प्रभावशाली नेताकार्यकर्ता जसपा नेपाल प्रवेश गरेका थिए ।