• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वीङ्गर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

वीङ्गर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
न्यूज टुडे
राजविराज, २७ फागुन । 
राजविराज-कञ्चनरुप हुलाकी सडकखण्ड अन्तर्गत   राजविराज नगरपालिका १ पडरियामा सोमबार राती वीङ्गर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । दुर्घटनामा रुपनी गाउँपालिका १ रायपुरका अन्दाजी बर्ष ३५ को रघु यादवको मृत्यु भएको हो । 
वीङ्गर चालकको शोकमा वीङ्गर व्यवसायीहरुले रुपनीमा रोकेर राखेको वीङ्गर । फोटो : न्यूज टुडे

जन्ती पुर्याएर तिरहुतको डिमन-बनौलीबाट राजविराज फर्किने क्रममा को १ ज २८६४ नम्बरको वीङ्गर अनियंत्रित भई दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा गम्भीर घाईते वीङ्गर चालक यादवको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । 
दुर्घटनामा सहचालक शम्भुनाथ नगरपालिका  १ खोकसरका अन्दाजी बर्ष २५ को देवसुन्दर साह समेत सामान्य घाइते भएका छन् । उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए । मृतक वीङ्गर चालकको शव परिक्षण गरि परिवारको जिम्मा लगाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको एसपी खतिवडाले जानकारी दिए । 
यसैगरी मृतक वीङ्गर चालकको स्मृतिमा वीङ्गर व्यवसायीहरुले स-स्फुर्त रुपमा मंगलबार दिनभरी वीङ्गर सडक किनारमा रोकेर शोक मनाएका छन् । 
यसैगरी राजविराज नगरपालिका ११ स्थित झल्ही सडकमा सोमबार साँझ  एक मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।  मधेस प्रदेश ०६-००१प २६२८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी राजविराज नगरपालिका १२ का श्याम यादव घाइते भएका हुन् । 
उनको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार गरि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लागि भर्ना गरिएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।