न्यूज टुडे
राजबिराज,२२ फागुन ।
राजविराज नगरपालिकाका पूर्व प्रमुख शम्भु प्रसाद यादवले सप्तरीको राजविराजका बिटौरी तथा ब्लक जग्गासंग जोडेर आफ्नो चरीत्र हत्या गर्न खोजिएको बताएका छन् । राजविराजमा बिहिवार पत्रकार सम्मेलन गर्दै केही राजनितीक दलले आफ्नो बारे भ्रम सिर्जना गरि चरीत्र हत्याको प्रयास गरेको उनले बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख यादवले राजनीतिक पार्टीको नाम नलिइकन केही राजनीतिक दलले आफ्नो चरीत्र हत्याको प्रयास गरेको आरोप लगाए । विटौरी जग्गाको विषयमा सर्वदलीय बैठकमा आफू मेयर हुँदा प्रक्रिया रोकेको भन्ने प्रश्न उठाएको प्रति असन्तुष्टि व्यक्त गर्दै पूर्व मेयर यादवले आफुलाई बदनाम गर्ने नियतले निरधार भ्रम सिर्जना गर्न खोजिएको टिप्पणी गरे ।
उनले आफ्नो बोर्ड बैठकमा विटौरी जग्गाधनीलाई लालपुर्जा नदिने कुनैपनि निर्णय नभएको दावी गर्दै यस्ता भ्रममा नपर्न आग्रह गरे । यस्तो प्रमाण भेटिए राजनीतिकबाट सन्यास लिने उनको भनाइ छ । पूर्व नगरप्रमुख यादवले विटौरी जग्गा समस्या सम्बन्धमा आफू पदमा हुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समेत लालपुर्जा वितरण गर्ने प्रयास गरेको बताए । उनले संघीय सरकारले नचाहेकै कारण तत्कालीन समयमा पनि विटौरी जग्गा समस्या हल हुन नसेकोको उल्लेख गरे ।
विटौरी जग्गाधनीले लालपुर्जा पाउनुपर्छ भन्ने पक्षमा आफू अहिले पनि अडिग रहेको बताउँदै उनले यसबारे हुने कुनैपनि दवावमुलक कार्यक्रममा पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि विटौरी धनीहरूले जग्गाधनी पुर्जाको माग गर्दै राजबिराज बजार बन्द गरेका थिए । बिटौरी तथा बल्क जग्गाधनीहरूले आइतबार बिहान देखी १ बजेसम्म राजबिराज बजार ठप्प पारेर विरोध जनाएका थिए ।
राजविराज नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै उनीहरुले बजार बन्द गरेका थिए ।
राजविराज नगरपालिका विटौरी जग्गाको जग्गाधनी पूर्जा उपलब्ध गराउनु पर्ने, हटियामा निर्माणाधीन व्यवसयीक कम्प्लेक्स अविलम्व निर्माण हुनुपर्ने, नयाँ बसपार्क सञ्चालन हुनुपर्ने, नगरका निर्माणाधीन सडकहरूको काम सक्नुपर्ने लगायतका उनीहरुको माग थियो ।
यस्तै साकेत पार्क निर्माण, राजरंगशालाको स्तरोन्नति, कन्या छात्रावासको निर्माण र राजविराजको सिसिटिभी क्यामेरा प्रकरणका दोषीलाई समेत कारबाहीको माग गरिएको छ ।
विटौरी जग्गा पीडितहरुले संघर्ष समिति गठन गरि चरणबध्द आन्दोलन गर्दै आएका छन् ।