न्यूज टुडे
राजविराज,२१ फागुन ।
उदयपुरको वेलका नगरपालिकाका मेयर अशोक कार्कीले पत्रकार दिनेश शर्मालाई धम्की दिएका छन् ।गाडी दुरुपयोग गरेको विषय फेसबुकमा लेखेको भन्दै मेयर कार्कीले पत्रकार शर्मालाई ‘घरैबाट उठाउने’ धम्की दिएका हुन् ।
नगरप्रमुख कार्कीले बुधबार विहान फोनबाट तँलाई घरबाट उठाउँछु भनी धम्की दिएको पत्रकार शर्माले बताए ।
‘तपाईले मलाई चिन्नु भएको छैन। मैले धेरै ठुला–ठुला मिडियालाई कारवाही गरेको छु,तपाई जहाँ हुनुहुन्छ, त्यहीबाट उठाउँछु।’ भनी मेयर कार्कीले धम्काएको पत्रकार शर्माले जानकारी दिए ।
नगरपालिकाको को १ झ ५३६ सरकारी नम्बरको गाडी दुरुपयोग भएको विषयमा आफ्नो ‘दिनेश शर्म्मा’ नामको फेसवुक आईडीमा फोटोसहित स्ट्याटस लेखेको विषयमा उनले यसरी धम्की दिएको पत्रकार शर्माले बताए ।
मंगलबार विहान करिव ८ बजे उनकी श्रीमती टीका कट्वाल सब्जी किन्न उदयपुरबाट मेयरको गाडी लिएर सप्तरीको फत्तेपुर पुगेकी थिईन। उनी त्यहाँबाट दुई मुठा रायोको साग, एक पवा अदुवा र कागती किनेर फर्किएकी थिईन। सोही फोटो फेसबुकमा हालेको विषयमा उनले यसरी आक्रोश पोख्दै धम्की दिएको पत्रकार शर्माले बताए ।
श्रीमतीको नाम जोडेको भन्दै मेयर कार्कीले आपत्ति समेत व्यक्त गरे ।
उदयपुरका सीडीओ हरिप्रसाद घिमिरेले सरकारी गाडी प्रयोगको विषयमा हरेक स्थानीय तहलाई सर्कुलर नै जारी गरिएको र गाडी दुरुपयोग भएको विषयमा सवैले आवाज उठाउन पाईने वताए। यद्यपी गाडी दुरुपयोग भएको र ‘उठाउँछु’ भनेको विषयमा आफुले मेयरसँग कुरा गर्ने बताए।
बेलका नगरपालिकाका मेयर कार्कीले फत्तेपुर चौकीमा बोलाउँदा पत्रकार शर्मा आउन नमानेपछि सम्बन्धित निकायबाट सहयोग लिएर घरबाट उठाउने भनेको स्वीकार गरे । पत्रकारको बचाउँ गर्नुभन्दा प्रहरी चौकी फत्तेपुरका सइ र पत्रकार शर्मासंग यथार्थ कुरा बुझ्नु भन्दै उनले कसैको व्यक्तिगत चरीत्रमाथी नै ठेस पुग्ने गरि सामाजिक संजालमा लेख्नु अशोभनीय भएको टिप्पणी गरे ।
पत्रकार शर्मालाई ‘घरबाटै उठाउने’ धम्की दिने मेयर कार्की नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । पछिल्लो समय सेवाग्राहीहरुले मेयर कार्कीको कार्यसम्पादनमा प्रश्न उठाउँदै सामाजिक सञ्जालमा मार्फत चर्को आलोचना गरेका छन् ।