• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बाँसबाट आकर्षक घरेलु सामाग्री बनाएर विक्री गर्दै केन्द्र

बाँसबाट आकर्षक घरेलु सामाग्री बनाएर विक्री गर्दै केन्द्र
न्यूज टुडे
राजविराज, २० फागुन ।
महुली सामुदायिक विकास केन्द्रद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ बकधुवामा संचालित महुली बाँस प्रवर्द्धन श्रोत केन्द्रले बाँसबाट निर्मित आकर्षक घरेलु सामाग्री विक्री वितरण गर्न थालेका छन् । बाँस उपचार केन्द्रको रुपमा संचालनमा रहेको श्रोत केन्द्रले घरेलु प्रयोजनका लागि आकर्षक सामाग्रीहरु बनाएर  विक्री वितरण गर्न थालेको हो ।
बाँसबाट निर्मित सामाग्री देखाउँदै मिस्त्री भुपेन्द्र प्रसाद चौधरी । फोटो : न्यूज टुडे
घरेलु तथा साना उधोग कार्यालय सप्तरी राजविराजमा २०८९ माघमा उधोग दर्ता गरि बाँसको उपचार गर्न सुरु गरेका श्रोत केन्द्रले २०८१ कार्तिकदेखि घरेलु प्रायोजनमा उपयोग हुने सामाग्री बनाएर विक्री गर्न थालेको महुली सामुदायिक विकास केन्द्र बकधुवाका कार्यकारी निर्देशक प्रभुनारायण चौधरीले बताए ।  टेबुल, चिया तथा पानीखाने कप, प्रमाणपत्रका लागि सिसा फ्रेम, मोबाइल स्टेण्ड, स्टुल, चुरी स्टेण्ड, भर्‍याङ, ब्रस स्टेण्ड, सजावटका सामग्री लगायतका बाँसबाट निर्मित विभिन्न सामान बनाएर बेच्ने गरेको मिस्त्री भुपेन्द्र प्रसाद चौधरी जानकारी दिए  । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ५ बकधुवामा रहेको बाँस प्रबर्द्धन श्रोत केन्द्र । फोटो : न्यूज टुडे
उनले १ लाख ५० हजारको  बाँसबाट निर्मित  विभिन्न सामाग्री विक्री वितरण गरिएको तथा १ लाखभन्दाबढीको सामाग्रीहरु तयारी अबस्थामा रहेको बताए । चौधरीले उपचार गरिएको बाँसबाट निर्माण हुने भएकोले प्लाष्टिक र काठको सामग्रीभन्दा टिकाउ  र बलियो हुने दाबी गरे । 
हेर्दा आकर्षक जलबायु तथा बाताबरणमैत्री समेत भएकोले पछिल्लो समय होटल विभिन्न व्यवसायिक संघसंस्था तथा सार्वजनिक कार्यालयबाट अत्याधिक माग हुन थालेको कार्यकारी निर्देशक चौधरीले बताए । यसले  प्लास्टिकबाट निर्मित सामाग्रीहरुलाई निरुत्साहित गरि विस्थापित गर्ने विश्वास व्यक्त गरे । 
कार्यकारी निर्देशक चौधरीका अनुसार महुली बाँस प्रबर्द्धन श्रोत केन्द्रबाट राम्रो आमदानी हुने गरेको बताए । उनले श्रोत केन्द्र संचालनमा आएपछि १ दर्जनबढीले रोजगारी पाएको तथा सबै खर्च कटाएर बार्षिक ७ लाख आम्दानी हुने गरेको बताए । 
उनले बजार व्यवस्थित भएपछि बार्षिक १० लाख आम्दानी लिने योजनाको साथ संस्था अगाडि बढिरहेको जानकारी दिए । ह्याविट्याट फोर हुमानिटी नेपालको सहयोगमा श्रोत केन्द्रले बाँस उपचार गरि विक्री गर्दै आएको छ । बाँसको जिल्ला दररेट नहुँदा आफुहरु मर्कामा परेको कार्यकारी निर्देशक चौधरी बताउँछन् ।