• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पैसा डब्बल  गिरोहका आरोपी यादव पक्राउ
न्यूज टुडे
राजविराज,१६ फागुन । 
पैसा डब्बल गरिदिने भनी ठगी धन्दा चलाइरहेका ‘हनुमानी ‘ गिरोहमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-७ बस्ने रुपेश कुमार यादव पक्राउ परेको हो ।
उनलाई  बिहीवार राती ११ बजेको समयमा रुपनी बजारबाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
उक्त गिरोहको ठगीमा परेका पीडितहरुले हनुमानीको घरसम्म पैसा माग्न जाँदा रुपेशले कुटपिट गर्ने गरेको आरोप लगाएका छन् । पक्राउ परेका यादवमाथि ठगी, कुटपिट, अरुको सम्पत्तिमा हानीनोक्सानी पुर्याउने र लुटपाट जस्ता गम्भीर आरोपहरू लगाइएको छ। 
सप्तरी प्रहरीका अनुसार यादवले गिरोहमार्फत धेरैलाई ठगी गरेको र पीडितहरूलाई धम्की दिने गरेको पाइएको छ।
यादवविरुद्ध गत माघ ४ गते सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।हालसम्म आरोपित यादव फरार रहेकोमा गएराति पक्राउ परेको प्रहरीले बताएको छ।
सम्पत्ति आर्जन गर्ने उदेश्यले गिरोह बनाइ दुईदशकदेखि संगठित रुपमा ठगी धन्दा चलाइरहेको खुलासा भएपछि पीडितहरुले प्रहरीमा जाहेरी दर्खास्त दिएपछि कारबाही अगाडि बढेको छ।यस गिरोहमा संलग्न रहेको आरोपमा हनुमानी भनिने रामबहादुर रजकसहित ३ जना पक्राउ परेका छन् ।उनीहरुमाथि अनुसन्धान भइरहेको छ।
सप्तरीमा करिब दुई दशकअघि गिरोह बनाइ योजनाबद्ध तरिकाले विभिन्न शैलीमा ठगी धन्धा चलाउने यो गिरोहविरुद्ध कारबाही हुन सकेको थिएन ।यस गिरोहको ठगी सञ्जालमा संलग्न आरोपमा सप्तरी प्रहरीले १६ जनाविरुद्ध पक्राउ पुर्जी लिएको प्रहरीले जनाएको छ ।