न्यूज टुडे
राजविराज, १४ फागुन ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका प्रमुख राजनीतिक दलद्वारा दोश्रो चरणको एक हप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । कलौनी सितापुर स्थित इटहर्वा बजारमा बुधबार पत्रकार सम्मेलन गर्दै ६ दलिय गठबन्धनद्वारा चक्काजामसहितको हप्तादिने चरणबध्द संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

छ्दलीय गठबन्धनद्वारा घोषित संघर्षका कार्यक्रममा अन्तरक्रिया, मसाल जुलुस, रिले अनशन र २ घण्टे चक्काजामसहितको फागुन १५ देखि २१ गते सम्मका विरोधका कार्यक्रम रहेको छ ।

घोषित कार्यक्रम अनुसार २०८१ फागुन १५ गते स्थानीय सर्वदलीय बैठक बस्ने, १६ गते नागरिक समाज संघसंस्थाका प्रतिनिधिसंग अन्तरक्रिया छलफल गर्ने, फागुन १७ गते स्थानीय जनप्रतिनिधिहरुसंग अन्तरक्रिया छलफल गर्ने, फागुन १८ गते भूमि समस्या आयोग जिल्ला समिति सप्तरीलाई ध्यानाकर्षण पत्र बुझाउने, फागुन १९ गते जिल्लाका प्रमुख राजनितीक दलका अध्यक्षहरुसंग अन्तरक्रिया गर्ने, फागुन २० गते एकघण्टा रिले अनशन बस्ने तथा गाउँपालिकाका स्थानीय आम जनताहरुसंग बृहत् अन्तरक्रिया गर्ने तथा मसाल जूलूस प्रदर्शन गर्ने, फागुन २१ गते पूर्वपश्चिम राजमार्गमा २ घण्टा चक्काजाम गर्ने संघर्षका कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका गाउँपालिका संयोजक बेचन चौधरीले यसअघिको ३ दिने अल्टिमेटमसहितको संघर्षका कार्यक्रमबाट सुनुवाइ नभएपछि थप संघर्षमा जानुपरेको बताए । उनले माग सम्बोधन गर्नुभन्दा स्थानीय प्रशासन आन्दोलनलाई दबाउन उद्दत्त देखिएको भन्दै आक्रोश पोखे ।
नेपाली काँग्रेसका गाउँपालिका सभापति अशोक चौधरीले नेपालको संबिधानमै ग्यारेन्टी भएको बजारको सार्वजनिक सरकारी सम्पत्ति तोडफोड गर्नु विधिको शासन र कानुनी राज्यको उपहास भएको बताए । जग्गा नापजाँच ऎन २०१९ ले हाट बजार, घर बाटोसहितका सरकारी संरचना भएको जग्गा सार्वजनिक हुने कानूनी व्यवस्था विपरीत प्रशासनले बलपूर्वक परापूर्वकालदेखी निर्मित सरकारी संरचना हटाउनु कानून विपरीत भएको दावी गरे ।
भु-माफियाको उक्साहटमा पुर्व सूचना विना छापामार शैलीमा गरिएको तोडफोड कानुनी राज्यको उपहास भएको बताउँदै उनले कानुनलाई चुनौती दिने सिडिओ एसपीलाई निलम्बन गरि छानवीन गर्नुपर्ने माग राखे ।
नेकपा एमालेका सचीव विनोद कुमार चौधरीले प्रहरी ज्याजतिको विरोध गर्दै यस्तो रबैया कायम राखे सहनीय नहुने चेतावनी दिए । उनले दोश्रो चरणको शान्तिपूर्ण आन्दोलनबाट समेत माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रीने बताए ।
जसपा नेपालका अध्यक्ष मिलन कुमार चौधरीले चालीस बर्षदेखी बजारले हकभोग गर्दै आएको सार्वजनिक जग्गा निजीकरण गर्न खोजिए मान्य नहुने बताए । उनले बजारको जग्गामाथी बक्रदृष्टी राख्ने विरुद्ध प्रतिकारमा उत्रीने चेतावनी दिए । उनले प्रशासनले जनतामाथि गरिको बरबरतापूर्ण दमन र बजारको घरटहरामा तोडफोड गरेर साह्रै अन्याय गरेको बताए ।
पत्रकार सम्मेलनमा जनमत पार्टीका गाउँपालिका अध्यक्ष दुर्गानन्द यादव, नागरिक उन्मुक्ति पार्टीका संयोजक लखनलाल चौधरीलगायत ६ दलका विभिन्न तहका स्थानीय नेताहरुको उपस्थिति थियो ।
कार्यक्रम संचालन नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिब तुलसी थारुले गरेका थिए । गत फागुन १२ गते कडा सुरक्षा घेराभित्र इटहर्वा बजारमा परपुर्वकलमै निर्मित सरकारी संरचना डोजर लगएर तोडफोड गरेपछि स्थानीय ६ राजनीतिक दल विरोधमा उत्रिएका छन् ।
सरकारी संरचना हटाउन सहयोग गरेको भन्दै सप्तरीका डिडिओ भोला दाहाल र एसपी ढकेन्द्र खतिवडालाई निलम्बन गर्नुपर्ने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्नेसहित माग राखी ६ राजनीतिक दलले विभिन्न चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।