• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेस कृषि विश्वविद्यालयको ताला खुल्यो
न्यूज टुडे
राजविराज,१० फागुन  । 
सप्तरीको राजविराज स्थित रहेको मधेस कृषि विश्वविद्यालयको ताला खुलेको छ । पारिश्रमिक माग गर्दै उप-प्राध्यापकहरुले पठनपाठन समेत ठप्प पारी विश्वविद्यालयको प्रशासनिक भवनमा गरिएको तालाबन्दी दशदिन पछि शनिबार खोलिएको हो ।
जिल्ला समन्वय समितिको पहलमा शनिबार सम्पन्न सर्वदलीय, सर्वपक्षीय बैठकद्वारा उपप्राध्यापक तथा कर्मचारीहरुको तलबभत्ताका लागि पहल गर्ने तथा विश्वविद्यालयको तालाबन्दी खोल्ने निर्णय भएपछि ताला खोलिएको एक उपप्राध्यापकले जानकारी दिए । 
बैठकमा विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, जिल्लाका प्रशासन प्रमुख, विश्वविद्यालयका प्रतिनिधि, प्राध्यापक, नेपाल पत्रकार महासंघसहितका विभिन्न  सरोकारवाला संघ संस्थाहरुको अध्यक्ष एवम् प्रतिनिधि उपस्थिति थियो ।  
सात महिनादेखि रोकिएको तलव भत्तासहितको सुविधा उपलब्ध गराउन माग गर्दै उप-प्राध्यापकहरुले विश्वविद्यालयमा फागुन १ गते तालाबन्दी गरी पठनपाठन सहित सम्पुर्ण गतिविधि ठप्प पारेका थिए । तालाबन्दीसहित उपप्रध्यापकहरु आन्दोलनमा उत्रिएपछी पठनपाठन पूर्ण रूपले प्रभावित हुँदा विद्यार्थीहरु मारमा परेको थिए।  प्रदेश सरकारले बजेट खर्च गर्ने अख्तियारी नदिएकाले उपप्राध्यापक तथा कर्मचारीलाई तलबभत्ता उपलब्ध गराउन नसकेको तथा विश्वविद्यालयका सम्पूर्ण गतिविधि ठप्प हुन पुगेको विश्वविद्यालय प्रशासनको भनाइ छ ।
यसअघि उप-प्राध्यापकहरुले मुख्यमन्त्री, शिक्षा तथा संस्कृतिमन्त्रीलगायतका विभिन्न कार्यालय तथा राजनीतिक दललाई  ज्ञापनपत्र बुझाउँदै उनीहरूले आव २०८१/०८२ को भदौदेखि हालसम्मको तलबभत्ता उपलब्ध गराउन माग गरेका थिए । 
विश्वविद्यालयका उप-प्राध्यापक अविनास कुमार यादवको नेतृत्वमा उप- प्राध्यापकहरुले मुख्यमन्त्री सतिश कुमार सिंह र शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीलाई इमेलमार्फत तथा जिल्ला समन्वय समितिका सभापति शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल र जिल्ला स्थित प्रमुख राजनीतिक दलका कार्यालय पुगेर ज्ञापनपत्र बुझाए थिए । 
विश्वविद्यालयको पदाधिकारीहरुको पुस २८ गतेको बैठकले उप-प्राध्यापक तथा कर्मचारीहरुलाई तलबभत्ता खुवाउन नसकिने लिखित रुपमा प्राप्त भएकोमा पुस २९ गते तलवभत्ता भुक्तानीको माग राखी ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाइ नभएपछि उप-प्राध्यापकहरु विश्वविद्यालयमा तालाबन्दी आन्दोलनमा उत्रिएका थिए ।
उप-प्राध्यापकहरुले तीन दिनको अल्टिमेटमसहित माग सम्बोधन नभए पठनपाठन तथा अनुसन्धानका सम्पुर्ण गतिविधि ठप्प पारी आन्दोलनमा उत्रिने चेतावनी दिदै माघ ३० गते सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएका थिए । 
सप्तरीको राजविराजमा स्थापना गरिएको मधेस प्रदेशकै गौरवको रुपमा रहेको कृषि विश्वविद्यालय राजनीतिक खिच्चातानीले लथालिङ्ग अबस्थामा पुगेको छ । जसपा नेपालसंग प्रतिशोध साध्न जनमत पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारले विश्वविद्यालयप्रति राखेको बक्र दृष्टिले ७ महिनादेखि उपकुलपति, रजिस्ट्रार, उपप्रध्यापक, अन्यकर्मचारी तथा कार्यालय सहयोगी सम्मको तलव रोकिएको छ। 
प्रदेश सरकारले आर्थिक कारोबार रोक्दा भौतिक पूर्वाधार विकासको कार्य ठप्प छन् भने घरभाडा, विजुली, खानेपानीको विल, इन्धन तथा अन्य पठनपाठनका सामाग्रीको भुक्तानीमा चरम समस्या खेपिरहेको विश्वविद्यालय प्रशासनले जनाएका छन् ।