सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले मातृभाषा शिक्षा लागू गर्न सकस रहेको बताएका छन् । अन्तरास्ट्रिय मातृभाषा दिवसको अवसरमा इन्टेलेक्चुअल फाउण्डेशन नेपाल सप्तरीद्वारा बोदेबर्साईन नगरपालिकाको सभाहलमा शुक्रबार आयोजित शिक्षा मे मातृभाषा : नीति आ यथार्थ विषयक वक्तृत्वकला प्रतियोगितामा बोल्दै उनले यस्तो बताएका हुन् ।
मेयर यादव र उपमेयर साहलाई सम्मान पत्रद्वारा सम्मान गर्दै अध्यक्ष डा. यादव । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै मेयर यादवले मातृभाषा लिपीमा पाठ्यपुस्किकाको अभावमा विद्यालयमा मातृभाषा लागू गर्न सकस भएको बताए । उनले मैथिली भाषामा पठनपाठन गराउन नगरपालिकाले अभ्यास गरिएपनि पाट्यपुस्तको अभावमा प्रभावकारी हुन नसकेको उल्लेख गरे ।
नगरप्रमुख यादवले मैथिलीसंगै थारु, बजिकासहितका मातृभाषामा पनि पठनपाठन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाठ्यपुस्तक लेखनमा सहयोगका लागी भाषाविदहरुसंग आग्रह गरे । उनले मातृभाषा शिक्षा लागु भएपनि त्यसको उपयोगमा शंका व्यक्त गर्दै मातृभाषाले सरकारी कामकाजको भाषाको मान्यता नपाएसम्म यसले सार्थकता पाउन नसक्ने बताए ।
डा. यादवबाट सम्मान ग्रहण गर्दै शिक्षा प्रमुख रामसागर यादव । फोटो : न्यूज टुडे
इन्टेलेक्चुअल फाउण्डेशन नेपालले अन्तरास्ट्रिय मातृभाषा दिवसको अवसरमा कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै नगरप्रमुख यादवले कार्यक्रमले मातृभाषाको विकास, प्रबर्द्धन, संरक्षणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
इन्टेलेक्चुअल फाउण्डेशन नेपाल सप्तरीका अध्यक्ष डा. सूर्यप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख रेणु कुमारी साह, मधेस प्रदेशका शिक्षा समन्वय समिति सदस्य दिनेश प्रसाद यादव, बोदेबर्साईन नगरपालिकाका शिक्षा शाखा प्रमुख रामसागर यादव, मैथिली महिला परिषद सप्तरीकी अध्यक्ष रमिलादेवी साह,समाजसेवी इन्जिनियर सूर्यनारायण यादव, शिक्षाविज्ञ डा. जयनारायण यादव, आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, प्रतियोगिताका निर्णायक ओमकान्त पण्डित, इन्टेलेक्चुअल फाउण्डेशन नेपालका आजिवन सदस्य सुधिकर सिंहलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रम संचालन स्थानीय पत्रकार राससकर्मी उमेश कुमार साहले गरेका थिए ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित कार्यक्रममैनवत्ती बालेर उद्घाटन गर्दै मेयर यादव । फोटो : न्यूज टुडे
कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्यहरु, भाषाविदहरु, विभिन्न विद्यालयका प्राध्यापक , शिक्षक, विद्यार्थी, पत्रकारहरुले उपस्थिति थियो । प्रतियोगितामा विभिन्न विद्यालयका १० जना छात्रछात्राको सहभागिता जनाएका थिए ।
प्रतियोगितामा पूजा साहले प्रथम, सत्येन्द्र कुमार यादव द्वितीय र पवन कुमार मण्डलले तेस्रो स्थान हाँसिल गरेका थिए । उनिहरुलाई नगरप्रमुख यादव, उपप्रमुख साहले प्रमाणपत्र र डायरी, कलम तथा शैक्षिक सामाग्रीद्वारा पुरस्कृत गरे ।
उक्त अवसरमा नगरप्रमुख, उपप्रमुख शिक्षा प्रमुख, समाजसेवी इन्जिनियर यादव, आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष एवम् पत्रकार तामाङ, मिलाफ सप्तरीकी अध्यक्ष साह सहितका १ दर्जन व्यक्तित्वलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।