मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले देशमा विभिन्न जातजातिको संस्कार र संस्कृति संरक्षण गर्ने दायित्व राज्यको भएको बताएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित बस्तीपुरमा बुधबार आयोजित नेवा: देय् दबू सप्तरीका जिल्ला तथा नगरसमितिका नवनिर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सपथ तथा पदभार ग्रहण कार्यक्रममा मञ्चासीन मन्त्री लेखीसहित अतिथिगण । फोटो : उत्तम आचार्य
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले नेपालमा विभिन्न जातिको भाषा, धर्म, संस्कार र संस्कृति देशको गहना हो भन्दै यसको संरक्षण र प्रबर्द्धन गर्ने कार्यबाट सरकार पन्छिनु नमिल्ने जिकिर गरे । उनले संविधानले नै प्रत्याभूत गरेको अधिकारलाई टेकेर तीनै तहको सरकारले सबैजातजातिको पहिचान र संस्कृति जगेर्नाका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।
मन्त्री लेखीले संविधानमा भएको अधिकार कार्यान्वयन हुन नसक्दा बर्षोबर्षदेखि विभेद र उत्पीडनमा परेका समुदायको अझै राज्यको श्रोत साधनमा पहुँच हुनु नसकेको टिप्पणी गरे ।
‘संविधानले दिएको अधिकारलाई सबैले आत्मसात गर्नुपर्छ, संविधानमा प्रयाप्त अधिकार छ, तर कार्यान्वयन भएको छैन, मन्त्री लेखीले भने,’ स्वायत्त प्रदेश, क्षेत्र र इलाका गठन अझै गर्न सकिएको छैन, संविधानले ग्यारेन्टी गरेको हक कार्यान्वयन नहुँदा जनताको अझै श्रोत साधनमा सहज पहुँच पुग्न सकेको छैन ।’
विभिन्न कठोर आन्दोलनबाट प्राप्त अधिकार रक्षाका लागि थप संघर्ष गर्नुको विकल्प नरहेको बताउँदै प्रमुख अतिथि मन्त्री लेखीले कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै निरन्तर एकताबद्ध भएर दवाव जरी राख्न आग्रह गरे ।
कार्यक्रम प्रदर्शन गरिएको लाखे नाँच र पन्चकन्याँ । फोटो : न्यूज टुडे
नेवा: देय् दबू सप्तरीका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा कञ्चनरुप नगरपालिकाका पूर्व मेयर वसन्त कुमार मिश्र, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) मधेस प्रदेशका महासचिव बृजमान तामाङ, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान, नेवा: देय् दबूका केन्द्रीय सदस्य दक्ष नारायण श्रेष्ठ, मधेस प्रदेश अध्यक्ष तिलकमान श्रेष्ठ, नेपाल मगर संघ सप्तरीकी अध्यक्ष साधाना राना, नेवा: देय् दबू सप्तरीका पूर्व अध्यक्ष जित बहादुर श्रेष्ठ, पूर्व प्रधानाध्यापक नागेन्द्र श्रेष्ठ, नेवा: देय् दबू सप्तकोशी नगरपालिका अध्यक्ष विनोद श्रेष्ठले नवनिर्वाचित जिल्ला तथा नगर समितिका पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा सहभागी जिल्ला स्थित विभिन्न स्थानीय तहका नेवार समुदाय । फोटो : न्यूज टुडे
उक्त अवसरमा मन्त्री लेखी, पूर्व नगरप्रमुख मिश्र, नेवा: देय् दबूका केन्द्रीय सदस्य दक्ष नारायण श्रेष्ठ, प्रदेश अध्यक्ष तिलकमान श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष प्रधान,कञ्चनरुप नगरपालिका १२ नम्बर वडाका अध्यक्ष देवी बहादुर खत्री, पत्रकार महासंघ सप्तरीका सह-सचिव डम्बर राई, कार्य समिति सदस्य उत्तम आचार्य, पत्रकार अनिल पोखरेललगायतकाले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरि पदास्थापना गराएका थिए ।
स्थानीय अमर श्रेष्ठद्वारा संचालित कार्यक्रममा।स्वागत नेवा: देय् दबू कञ्चनरुप नगरपालिकाका अध्यक्ष कौशल श्रेष्ठले गरे ।
कार्यक्रममा जिल्ला समिति, सप्तकोशी, कञ्चनरुप, खडक नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले सपथग्रहण तथा पदभार ग्रहण गरेका थिए ।