न्यूज टुडे
राजविराज, ०४ फागुन ।
सप्तरीको बलनविहुल गाउँपालिकाकी उपाध्यक्ष रेणु यादवसहित ४ जना वडा अध्यक्षलगायत बहुमत कार्यपालिका सदस्य गत फागुन ०२ गते सम्पन्न विशेष गाउँसभाको विपक्ष उभिएका छन् । उनीहरुले गाउँपालिकामा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष खेमचन्द्र यादवले एकलौटी रुपमा गाउँ सभा गरेको आरोप लगाउँदै खारेजीको माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष यादवले अध्यक्ष यादवले एकल निर्णयबाट गाउँपालिका चलाउन खोजेको आरोप लगाइन् । उनले आफू लगायतका वडा अध्यक्षहरुको अधिकार हस्तक्षेप गरि अध्यक्षले शक्तिको दुरुपयोग गरि औचित्यहीन गाउँसभा गरेर विवाद निम्त्याएको जिकिर गरिन । अध्यक्ष यादवले स्थानीय तह संचालन ऎन विरुद्ध न्यायीक समितिको निवेदनमा आफै तोक लगाउने तथा हरेक जिम्मेवारीमा हस्तक्षेप गरि आफ्नो घोर अपमान गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष यादवले बताइन् ।
पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष राम कुमार यादवले उपाध्यक्ष र वडा अध्यक्षको जिम्मेवारी र अधिकार कटौती गर्ने नियतले गरिएको औचित्यहीन विशेष गाउँसभा खारेजीको माग गरे । २०८१ असार १० गते गाउँसभाबाट ल्याइएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै उनले विशेष गाउँसभा गर्नुपर्ने कुनै तुक नरहेको उल्लेख गरे ।
वडा नम्बर ४ का अध्यक्ष लक्ष्मी नारायण साहले गाउँपालिका अध्यक्ष यादवले आफ्ना नातागोता ,अंशबंश र आसेपासेलाई धर्म संस्कृति, आर्थिक सहायता, छात्रवृत्तिको नाममा वितरणमुखी बजेट ल्याई दुरुपयोग गर्न दुषित उदेश्यले सभा बोलाएकोले बहिष्कार गरेको बताए । औचित्यहीन तथा अबैधानिक रुपले सभा गरेको टिप्पणी गर्दै अर्थहीन निर्णय खारेज नगरिए कानूनी तथा अन्य संघर्षका कार्यक्रम जारी राख्ने चेतावनी दिए ।
उनले सभामा सहभागी नै नभएका गाउँसभा सदस्यहरुको कृते हस्ताक्षर गरि नियतिबस गरिएको विशेष सभालाई स्वीकार गर्न नसकिने स्पष्ट पारे ।
वडा नम्बर ६ का अध्यक्ष सुर्य कुमार दासले अध्यक्षले एकल शासन गर्ने नियतले गरिएको सभाले विधिको शासन र संविधानको उपहास गरेको टिप्पणी गरे । मनपर्दी गर्न नपाएको झोकमा अध्यक्ष यादवले यस्तो गल्ती गरेको उनको भनाइ छ ।
तोकआदेशमा दैनिक ज्यालादारी कर्मचारी नियुक्त गरि बजेटको दोहन गरिरहेको तथा स्थानीय तह संचालन ऎन विपरीत गएर बजेटमा रजगज गर्न नपाउँदा अध्यक्षले शक्तिको दुरुपयोग गरि आफू अनुकुल निर्णय गराएको वडा नम्बर २ का अध्यक्ष इन्द्रदेव यादवले बताए । उनले स्थानीय तह संचालन ऎन र कार्यविधिलाई नै चुनौती दिनेगरि गाउँसभाबाट गरिएको निर्णयहरु बदर गर्न माग गरे ।
उनीहरुका अनुसार २०८१ असार १० गते गाउँसभा पारित योजना कार्यान्वयनका लागि मंसिर मसान्तसम्म सम्झौता गर्न पाउने कानूनी व्यवस्था विरुद्ध अध्यक्ष यादवले मंसिर १४ गते नै सम्झौता गर्न रोकेका थिए ।
गाउँपालिकामा १४ जना कार्यपालिका मध्ये ९ जना आफुहरुको पक्षमा रहेको तथा गाउँसभा सदस्यहरु पनि बहुमत रहेको असन्तुष्ट पक्षको दावी छ ।
गाउँपालिका अध्यक्ष यादवले आफू कार्यपालिकामा अल्पमतमा परेर काम गर्न अबरोध गर्न थालिएपछी नियमगंगत विशेष गाउँसभाबाट निर्णय गराएको स्वीकार गरे । असारको गाउँसभाले पारित गरेको नीति , कार्यक्रम तथा योजना बहुमत कार्यपालिका सदस्यले कार्यान्वयन गर्न रोकेर बन्धक बनाउन खेजेपछी विशेष सभा गर्न बाध्य भएको उनको भनाइ छ ।
‘ढोका बन्द गरेपछि झ्याल खोलेर निस्केको मात्र हो’ उनले भने, कसैलाई चित्त नबुझे अदालत जाँदा हुन्छ।’
बहुमत कार्यपालिका सदस्यको समर्थन विपरीत विशेष गाउँसभाबाट असार १० गतेको बजेट, निती, योजना तथा कार्यक्रम विशेष गाउँसभाद्वारा परिमार्जनसहित संशोधन गरेपछि विवाद चुलिएको एक कार्यपालिका सदस्यले जानकारी दिए ।