शिवप्रसाद आचार्य
राजविराज, ०३ फागुन ।
नेकपा एमालेका केन्द्रीय उप महासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भूमि सम्बन्धी अध्यादेश केही दिन भित्रै दुवै सदनबाट पास हुने दावी गरेका छन्। प्रेस चौतारी नेपाल सप्तरी जिल्ला शाखाद्वारा राजविराजमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दावी गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले संविधानले प्रदान गरेको भूमि सम्बन्धी अधिकारलाई अध्यादेशले सम्बोधन गरेकाले चाडै पास हुनेमा ढुक्क हुन आग्रह गरे। पचासौं वर्ष देखि बसोबास गरेको व्यक्तिको हातमा आलपूर्जा नहुँदाको पीडालाई मलहम लगाउन भए पनि यो अध्यादेश आवश्यक रहेको उनले बताए। सदनबाट यदि पास हुन नसके सरकारसंग यसको विकल्प रहेको पानी उनले बताए।
नेकपा एमाले सप्तरी पार्टी कार्यालयमा सञ्चारकर्मी हरुलाई प्रतिक्रिया दिँदै एमाले पार्टी उप महासचिव ज्ञावालीले एमाले कांग्रेसको सहकार्यमा बनेको सरकार ८४ को निर्वाचन सम्म रहने पनि दावी गरे। उनले वर्तमान सरकार गठन भए यता लगानीको वातावरणमा सुधार आएको र अर्थतन्त्र समेत बलियो बन्दै गएको पत्रकार सम्मेलनमा बताए ।
मुलुक अग्रगामी दिशा र स्थायित्वतर्फ अगाडि बढेकाले केही विचौलियाहरु अस्थिरताको पक्षमा दौडिरहेको ज्ञावलीले जिकिर गरे । माओबादी तर्फ इंकित गर्दै पूर्व मन्त्री ज्ञावालीले आफू सत्तामा हुँदा सबै राम्रो नहुँदा सबै बिग्रिएको देख्ने माओबादीका कारण देश पच्चिस वर्ष पछाडि धकेलिएको बताए।
विभिन्न सहकारीबाट ठगिएका १४ हजार भन्दा बढी पीडितको लाखौ रुपैया फिर्ता गरी साकिएकोले अब बाँकीको पनि पीडकबाट असुल गरी फिर्ता गरिने ज्ञावालीले बताए।
प्रेस चौतारी जिल्ला शाखा अध्यक्ष डम्बर राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेल, केन्द्रीय सदस्य एवम् मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी लगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो ।