• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकारिता क्षेत्रमा विनियोजित बजेट सदुपयोग हुनुपर्छ : उपाध्यक्ष चौधरी

पत्रकारिता क्षेत्रमा विनियोजित बजेट सदुपयोग हुनुपर्छ : उपाध्यक्ष चौधरी
न्यूज टुडे
राजविराज , ०३ फागुन । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले पत्रकार र पत्रकारिता क्षेत्रमा विनियोजित बजेट सदुपयोग हुनुपर्नेमा जोड दिएकी छिन् ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सप्तरीको पाँचौ जिल्ला अधिबेशन उद्घाटन गर्दै उनले यस्तो जोड दिएका हुन् । 
अधिबेशन उद्घाटन समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
फोनिज सप्तरीका उपाध्यक्ष जितेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजित पाँचौ जिल्ला अधिबेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले स्थानीय तहमा पत्रकारहरुका लागि विनियोजित बजेट उपयोग गर्नुपर्नेमा जोड दिइन् ।  पत्रकारका लागि छुट्याइएको बजेटमा पनि अनियमितता हुने गरेको गुनासो बारे चर्चा गर्दै प्रमुख अतिथि उपाध्यक्ष चौधरीले स्थानीय तहले विज्ञापन पत्रकारहरुलाई उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
पत्रकारलाई दिइने विज्ञापन पनि जनप्रतिनिधि तथा कर्मचारीले कमिसन मागेको समाचार आउनु लज्जास्पद भएको बताउँदै उनले यस्ता विकृति विरुद्ध कलम चलाउन पत्रकारहरुलाई आग्रह गरिन । उनले पत्रकारकै सहयोगले आफू उपाध्यक्षको हैसियतमा पुग्न सफल भएको उल्लेख गर्दै पत्रकारहरुको समग्र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । 
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव तुलसी थारुले पत्रकारको सहयोग विना कोही अगाडि बढ्न नसक्ने बताए । उनले नेता तथा सामाजिक अभियानताहरुको विचारलाई उजागर गर्न पत्रकारको अतुलनीय योगदान रहने बताए । उनले पत्रकारलाई प्रोत्साहन गर्न नेता,जनप्रतिनिधि, सामाजिक अभियानताहरुले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै फोनिज मधेस प्रदेश महासचिव बृजमान तामाङ । फोटो : न्यूज टुडे
अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चौकमा आयोजित कार्यक्रममा फोनिज मधेस प्रदेश महासचिव बृजमान तामाङ,नेपाल पत्रकार महासंघ सप्तरीका सह सचिब कृष्ण कुमार मण्डल,आदिवासी जनजाति महासंघ सप्तरीका उपाध्यक्ष उपेश कुमार सिंह दनुवार, थारु कल्याण कारिणीसभा सप्तरीका सभापति भुपेन्द्र प्रसाद चौधरी, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सप्तरीका सचिब रामनाथ चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत पत्रकार कमल प्रसाद मण्डल धानुकले गरे । 
अधिबेशनले कृष्ण कुमार मण्डलको अध्यक्षतामा १३ सदस्यीय सप्तरी जिल्ला शाखा गठन गरेको जनाइएको छ ।