न्यूज टुडे
राजविराज,०१ फागुन ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस कम्युनिष्टले देश बर्वाद बनाएको आरोप लगाउँदै विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका छन् । सप्तरीको खडक नगरपालिका ५ स्थित खरचुहियामा बिहिवार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनताको समस्या समाधान नभएर देशमा विद्रोहको बिस्फोट हुने खतरा रहेको भन्दै कांग्रेस कम्युनिष्ट देशलाई अगाडि बढाउन असफल भएको र वैदेशिक ऋणमा देशलाई डुबाएको आरोप लगाए । काँग्रेस र कम्युनिस्टको कुशासनका कारण देशमा कुनै भविष्य नदेखेपछि वर्तमान अवस्थामा १२ कक्षा पढेर विदेश जाने सोचका युवाशक्ति बढेको उनको भनाइ छ ।
अध्यक्ष यादवले भूमिसम्बन्धी अध्यादेशमार्फत तराईका जमिनमा पहाडबाट ल्याएर बसाउने प्रपञ्च भएको आरोप लगाए । चुरे विनाश गर्ने दिशामा सरकार अघि बढेको बताउँदै उनले चुरे विनास गरी मधेशलाई मरुभूमिकरण गर्न खोजेको आरोप लगाए ।
उनले जंगल र चुरे फँडानी गरी पहाडबाट मानिस ल्याएर बसाइ मधेशमा मधेशीलाई अल्पसंख्यक बनाउने षड्यन्त्र अनुरुप सरकारले भूमि अध्यादेश ल्याएरको आरोप लगाए । भूमाफियाको चक्करमा भूमि अध्यादेश ल्याइएको भन्दै उनले भूमिसम्बन्धी अध्यादेश देश र जनताको हितमा नरहेको जिकिर गरे । उनले ५४ प्रतिशत जनसंख्या रहेको मधेशमा १२-१३ प्रतिशत मात्र विकास बजेट दिएर विभेद गरेको उल्लेख गरे ।
पार्टीका केन्द्रीय प्रबक्ता मनिस सुमनले ढिलै भएपनि सही पार्टी रोजेको भन्दै नवप्रवेशी नेताकार्यकर्ताहरुलाई धन्यवाद दिए । जसपा नेपाल विना देशमा केही हुँदैन भन्दै उनले देशको शक्तिशाली तथा सशक्त पार्टी भएको दावी गरे । जसपा नेपालको कारण काँग्रेसका विमलेन्द्र निधि, एमालेका रघुवीर महासेठ र माओवादी केन्द्रका मातृका यादव जस्ताले पार्टीमा स्थान पाएको बताउँदै उनले अहिले मधेसीसहितकाले थोरै पनि हरेक क्षेत्रमा पाएको पहिचान, प्रतिनिधित्व र अधिकारसहित राजनीतिक अधिकार जसपा नेपालको नीतिकै बलमा प्राप्त भएको जिकिर गरे ।
केन्द्रीय सचिब शैलेन्द्र प्रसाद साहले मधेस विद्रोह तथा आदिवासी, थारुसहितको पहिचानको आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताए । उनले प्राप्त उपलब्धिको रक्षा तथा थप अधिकार सुनिश्चितताको लागि एकताबध्द भएर संघर्ष गर्नुको विकल्प नरहेको जिकिर गरे ।