न्यूज टुडे
राजविराज, २९ माघ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले र काँग्रेस नेतृत्वको बर्तमान सरकार पूर्ण रुपले असफल भइसकेको टिप्पणी गरेका छन् । समाजवादी प्रेस संगठन नेपालद्वारा सप्तरीको राजविराजमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले दुई दलीय अक्रमणीयताका कारण मुलुक अस्थिरताको घनचक्रमा फँसेका आरोप लगाए ।
‘आफुलाई दुइतिहाईको सरकार भनी गर्व गर्ने एमाले-काँग्रेस नेतृत्वको सरकारले देशलाई अधोगतितर्फ झकेल्दै छन्, नेता खनालले भने, दुई ठूला पार्टी नेतृत्वको सरकारले फुटेको कौडिको काम गर्न सकेको छैन, दुइदलीय दम्भले देश गम्भीर संकटको घडीमा छ ।’
पूर्व प्रधानमन्त्री खनालले ओली नेतृत्वको सरकार ढाटको सरकार भएको टिप्पणी गर्दै सात बुँदे सहमतिको आधारमा सरकार गठन भएको आफैंले गरेको सम्झौतालाई हालसम्म सार्वजनिक गर्न नसक्नु पनि सरकार कति कम्जोर र असफल छ भने अनुमान गर्न सकिने बताए ।
उनले बर्तमान सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याएर देशलाई अग्रगामी दिशामा लान नसक्ने दावी गरे । संसदलाई चुनौती दिदै गलत बाटोबाट ल्याएको विभिन्न अध्यादेश टेबुल गर्नु नसक्नु सरकारको असफलता भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले प्रतिनिधिसभाबाट अध्यादेश पास भएपनि राष्ट्रियसभाबाट पास हुन नसक्ने दावी गरे ।
अध्यादेश गलत ढंगले ल्याएको हुँदा पास हुने अवस्था न्यून रहेकोले यसले सरकारको कार्यशैलीमा प्रश्न उठाएकाले दुई ठुला दल नेतृत्वको सरकारलाई नैतिक संकटमा पारेको उनले बताए ।
नियमित कानून बनाउन असफल सरकारले राष्ट्रियतालाई कहिले अगाडि बढाउन नसक्ने दाबी गर्दै उनले बर्तमान सरकारकै कारण देशमा चरम भ्रष्टाचार र कुशासन मौलाएको तथा मुलुक गम्भीर संकटमा फसेको जिकिर गरे ।
खनालले अहिले संबिधान संशोधन गर्नुभन्दा ऎन कानून बनाएर कार्यान्वयन गर्नेतर्फ बढी केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
‘अहिल्यै नै संविधान संशोधन गर्न आवश्यक छैन, बर्तमान संविधाननै लागू गर्न सकिएको छैन, पूर्वप्रधानमन्त्री खनालले भने, अहिलेको संविधानको सफल कार्यान्वयनका लागि ३ दर्जनबढी ऎन कानून बनाउनुपर्छ, ऎन कानून बनाएर संविधानलाई कार्यान्वयन गर्ने दिशामा सरकारको बढी ध्यान केन्द्रित हुनु जरुरी छ।’
नेता खनालले अहिलेको अवस्थामा बाम गठबन्धन हुन नसक्ने जिकिर गरे । एमाले तिर इङ्गीत गर्दै उनले काँग्रेसका पुछर बनेर सिधाान्त विमुख केही कम्युनिस्ट पार्टीका कारण बाम गठबन्धनको अबस्था टाढिएको बताए ।
उनले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादनमा वृद्धि ल्याउने, देशमा औधोगिक क्रान्ति ल्याएर स्वदेशमै रोजगारीको व्यवस्था गर्ने, शिक्षा, स्वास्थ्यमा आम नागरिकको पहुँच बढाउने,जातीय तथा बर्गिय असमानतालाई हटाउने तथा सुशासन र विकासलाई अगाडि बढाउने जस्ता राष्ट्रको विहतरहीत हुने कार्यमा सामुहिक सोचको विकास नभएसम्म बाम एकताको औचित्यता नहुने बताए ।
केपी ओलीको सर्वसत्तावादी र स्वेच्छाचारी नीतिका कारण शक्तिशाली बाम गठबन्धन विखण्डन भएको स्मरण गर्दै उनले अहिले नै बाम गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा नेकपा एसकी पोलिटव्यूरो सदस्य एवम् मधेस प्रदेश सह इन्चार्ज उषा पोखरेल,मधेस प्रदेशका पूर्व कृषि तथा भुमी व्यवस्था मन्त्री समेत रहेका नेकपा एसका केन्द्रीय सदस्य गोविन्द बहादुर न्यौपाने, केन्द्रीय सदस्य अनार कुमारी चौधरी, जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीलगायतका नेताहरुको समेत उपस्थिति थियो ।