• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मूल्यांकन सम्बन्धि दुइदिवसीय तालिम सम्पन्न 

मूल्यांकन सम्बन्धि दुइदिवसीय तालिम सम्पन्न 
न्यूज टुडे
काठमाडौ, २८ माघ । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय समितिको समन्वय तथा नेपाल मुल्यांकन समाजद्वारा  ‘आदिवासी जनजाति पत्रकारहरुका लागि मूल्यांकन सम्बन्धि’ राष्ट्रिय स्तरीय दुइदिने तालीम आइतबार सम्पन्न भएको छ । नेपाल मुल्यांकन समाजका अध्यक्ष डा. भूवन बहादुर बज्राचार्यको अध्यक्षतामा आयोजित एक  समारोहका वीच तालिम समापन गरिएको हो । 
छलफलमा सहभागी पूर्व प्रदेश सभा सदस्यसहित सहयोगी संस्थाका प्रतिनिधि । फोटो: न्यूज टुडे
तालीम समापन समारोहमा बोल्दै नेपाल आदिवासी जनजाति  पत्रकार महासंघ ( फोनिज) का केन्द्रीय वरिष्ठ  उपाध्यक्ष लक्की चौधरीले तालीममा नयाँ अनुभव पाउँदा खुशी लागेको बताए । तालीमले पत्रकारितामा थप निखारता ल्याउन योगदान गरेको बताउँदै उनले तालिम जीवन उपयोगी र उपलब्धिमुलक भएको उल्लेख गरे । 
तालीम विचार व्यक्त गर्दै सुशासन संसदीय समितिका सभापति । फोटो : न्यूज टुडे
सहभागीको तर्फबाट बोल्दै फोनिजकी केन्द्रीय उपाध्यक्ष सरु मगरले तालीमले व्यवसायीक पत्रकारितामा थप उर्जा थपेको बताउँदै यसलाई प्रदेश तथा जिल्ला तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिइन्  । पत्रकारितामा नौलो विषयको अनुभव  तालीमबाट प्राप्त भएको बताउँदै उनले यस्ता महत्त्वपूर्ण कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिन सहकार्यका लागि आयोजकलाई  आग्रह गरिन । 
अर्का सहभागी आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) १ नम्बर प्रवेश इन्चार्ज भक्तशेर लिम्बूले तालीमको महत्व दर्शाउँदै विज्ञहरुबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय पदाधिकारी, प्रदेश अध्यक्ष, इन्जार्ज, विभिन्न आदिवासी जनजाति निकट जातीय पत्रकार संगठनका केन्द्रीय अध्यक्ष, सचीव लगायतका सहभागीता रहेको तालीमको सहजीकरण राष्ट्रिय योजना आयोगका उपाध्यक्ष  डा. शिववराज अधिकारी, सदस्य डा. गंगा दत्त अवस्थी,फोनिजका केन्द्रीय अध्यक्ष गजुर्धन राई, नेपाल मुल्यांकन समाजका अध्यक्ष डा. भूवन बहादुर बज्राचार्य, मुल्यांकन समाजका उपाध्यक्ष डा. विजय कुमार सिंह लगायतले  गरेका थिए । 
तालिममा संघीय संसद सुशासन संसदीय समितिका सभापति, बागमती प्रदेशका पूर्व प्रदेशसभा सदस्य, विभिन्न सहयोगी संस्थाका अध्यक्ष तथा प्रतिनिधित्व र मुल्यांकन सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लामो अनुभव बटुलेका विज्ञहरुसंग समेत अन्तरक्रिया तथा छलफल गरिएको सहभागी फोनिज मधेस प्रदेशका महासचिव बृजमान तामाङले जानकारी दिए । 
कार्यक्रम संचालन नेपाल मुल्यांकन समाजका सदस्य भवानी दाहालले गरेका थिए ।