न्यूज टुडे
राजविराज, १७ माघ ।
सप्तरीमा २८६१ औ सोनाम डुल ल्होछार भव्यताको साथ मनाइएको छ । नेपाल तामाङ घेदुङ सप्तरीद्वारा रुपनी गाउँपालिका ६ स्थित नयाँ बस्तीमा बिहिवार ल्होछार पर्वको महत्व र आवश्यकता विषयक बृहत अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरि ल्होछार पर्व मनाएको हो ।

नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङको अध्यक्षता तथा मधेस प्रदेशका पूर्व गृह, सञ्चार तथा कानूनमन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ (क) का साँसद मो. समिमको प्रमुख आतिथ्यमा आयोजित एक भव्य समारोहका वीच ल्होछार पर्व मनाइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समिमले तामाङ समुदायलाई विभिन्न माध्यमबाट निरन्तर सहयोग गरिरहेको बताउँदै आगामी दिन थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । तामाङ सामुदाय बसोबास भएको नयाँबस्तीमा सडक, पुल विजुली लगायत अति आवश्यक पूर्वाधार विकासमा सहयोग गरेको उल्लेख गर्दै उनले सामुदायिक भवन निर्माणमा प्रदेशबाट उपलब्ध २५ लाख रुपैयाँ एकहप्ता भित्र कार्यान्वयनमा ल्याउने बताए ।

नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष धर्म डुम्जन लामाले ल्होछार पर्वमा ५ दिन सरकारी विदा हुनुपर्नेमा जोड दिए । उनले माघ शुक्ल प्रतिपदादेखि श्रीपञ्चमीसम्म राष्ट्रिय विदा दिनुपर्ने माग गरे । उनले पाँचदिनसम्म मान्यजनको हातबाट टीका खदा ग्रहण गरि ल्होछार मनाउन आग्रह गरे ।

रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले तामाङसहित पालिकाको सम्पूर्ण जातजातिको संस्कृतिको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
थारु संस्कृति संरक्षण नेपालका संस्थापक अध्यक्ष एवम् साँस्कृतिक अभियानता गयानन्द चौधरीले आफ्नै भाषा, भेषभुषामा गीत तथा नृत्य प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिब तुलसी थारुले मधेस प्रदेश सरकारले थारुसहितका आदिवासी जनजातिको पहिचान समाप्त पार्ने षड्यन्त्र गरीरहेको आरोप लगाए ।
थारु कल्याणकारीणी सभाकी केन्द्रीय सदस्य एवम् आदिवासी जनजाति महासंघ मधेश प्रदेशकी उपाध्यक्ष दिल कुमारी चौधरीले मधेश प्रदेश सरकारले थारु भाषालाई उपेक्षा गरेको भन्दै आपत्ती व्यक्त गरे ।
जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले जसपा नेपालको पहिचान,प्रतिनिधित्व र अधिकारप्राप्तिको संघर्षमा यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष छेदी रजक विमलले देशमा उत्पिडन तथा भेदभावमा परेका समुदाय हक अधिकार सुनिश्चितताका लागि पार्टी निरन्तर संघर्षमा रहेको बताए ।
धर्मीहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले सामाजिक विकासमा तामाङ समुदायको अतुलनीय योगदान रहेको बताए ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधानले आदिवासी जनजाति समुदाय जंगलको कछाडमा बसोबास गर्ने जाति भएकोले सरकारी सेवा सुविधामा पहुँचमा हुन नसकेको बताए । उनले आदिवासी जनजातिलाई राज्यको श्रोत साधनमा अग्र अधिकारसहितको विशेष सुविधाका लागि सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा शम्भुनाथ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुर्गानन्द भगत, थारु कल्याण कारिणी सभा सप्तरीका सभापति भुपेन्द्र चौधरी, नेपाल मगर संघ सप्तरीकी अध्यक्ष साधना राना मगर, भुजेल सेवा समितिका अध्यक्ष दिनेश भुजेल, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य नर्मदेव यादव, दनुवार जागरण समिति सप्तरीका उपेश कुमार सिंह दनुवार, थारु संस्कृति संरक्षण संघ नेपाल सप्तकोसी नगरपालिकाका अध्यक्ष सत्यनारायण चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ र जिल्ला घेदुङ उपाध्यक्ष सरिता योन्जनद्वारा संयुक्त रुपमा संचालित कार्यक्रमको उदेश्य बारे संघीय सदस्य भिम घिसिङले ल्होछारको महत्त्व र विशेषता बारे प्रकाश पारे भने जिल्ला सचिव डिक बहादुर मोक्तानले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली सेना बरखगणका गणपति प्रमुख सेनानी रमेश पाण्डे, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, रुपनी गाउँपालिका ६ का वडा सदस्य सूर्यनारायण महतोलगायतका जिल्ला अन्तर्गतका विभिन्न स्थानीय तहका तामाङ समुदायको सहभागीता रहेको थियो ।
कार्यक्रममा तामाङ राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने तामाङ समुदायको साँस्कृतिक बाजा डम्फू, तामाङ पौराणिक खाना, बन्दो, लामाको झाँक्री प्रदर्शनी समेत गरिएको थियो ।