न्यूज टुडे
राजविराज, १५ माघ ।
विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा आलटाल गर्दैै आएका श्रीमानलाई नन्दले झुटो कुरा सुनाएर तलाकको अवस्थामा पुर्याई दिएको एक महिलाले गुनासो गरेकी छिन । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रह्मपुर सिघिंया टोल वस्ने २२ बर्षीय सनिजा खातुनले राजविराजमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो गुनासो गरेकी हुन ।
पत्रकार सम्मेलनमा बोल्दै खातुनले विवाहको तीन वर्ष हुन लाग्दा पनि श्रीमान मो. आकुवले विवाह दर्ता र नागरिकता नबनाई दिएको र सो बनाईदिन आग्रह गर्दा “किन हतार गरेको” भन्दै रिसाउने गरेको बताईन ।
डेढ वर्षदेखी कतारमा रहेका श्रीमानलाई नन्द मरियम खातुनले मेरो बारेमा झुटो कुरा लगाई भडकाएको र अन्त्यमा श्रीमानले ५ महिना अघि फोनबाटै “तलाक” दिएपछि आफु विच्चलीमा परेको उनले बताइएकी छिन । हाल उनका श्रीमान आकुव रोजगारीका सिलसिलामा कतारमा छन ।
पछिल्लो मंसिर १९ गते राती आफु गाउँको एक बैवाहिक कार्यक्रममा सरिक हुन गएका वेला नन्द मरियमले कोठामा रहेको दराजबाट सुनको सिक्रि, टिका, नथुनी, अंगुठी गरी करिब ५ तोला र चाँदीको १० तोलाको विभिन्न गरगहना चोरी गरी लगेको आरोप समेत उनले लगाएकी छिन ।आफु विरुद्ध नन्द मरियमले समय–समयमा झुटो कुरा लगाएर श्रीमानलाई भड्काउने र अन्त्यमा श्रीमानले फोनबाटै “तलाक” दिदा आफु घर न घाटकी भएको उनले दुखेसो पोखिन् ।
यस विषयमा आफुले नन्द मरियम विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिएको उनले बताइन् । जाहेरी मार्फत घरमा चोरी गर्ने तथा आफुलाई “तलाक” सम्मको अवस्थामा पुर्याउने माथी कारवाही हुनुपर्ने उनले माग गरेकी छिन् ।
डेढ वर्षिय छोरा र ५८ वर्षिया आमा नजिरासंगै न्याय खोज्दै यहाँ आइपुगेकी सनिजाले विवाह भएपछि विवाह दर्ता र सन्तान जन्मेपछी जन्मदर्ता गराईदिन माग गर्नु स्वभाविक भए पनि श्रीमान र नन्दले यसलाई अपराध गरे जस्तै लिएको उनले गुनासो गरिन ।
भारतको विहार राज्य कुनौली ग्रामपञ्चायत डंगमारा माइती भएकी सनिजाको २०७८ साल चैत्र ८ गते मो. आकुवसंग मुस्लिम धर्म परम्परा अनुसार मौलानाको उपस्थितीमा विवाह (निकाहनामा) सम्पन्न भएको थियो । छोरीको विवाहमा आफुले १५ लाख रुपैया खर्चेको आमा नजिराले सुनाईन ।
”विवाह भएपछि एक÷डेढ वर्ष सम्म ज्वाई र घर परिवारका सबैले छोरीसंग राम्रै व्यवहार गरे । डेढ वर्ष अघि नाति फैजानको जन्म भयो ।’ नजिराले भनिन्, ‘त्यस पछि विवाह दर्ता र जन्मदर्ताका लागी आग्रह गर्दा छोरीमाथी नन्दबाट चुगली र यातना दिने काम सुरु भयो ।’
‘नन्द मरियम कै कारण तलाक समेत दिएर छोरीलाई सम्बन्ध विच्छेदको अवस्था पुर्याएको छ, अब कति हिंसा सहनु’ ? आमा नजिराले पत्रकारहरु संग पीडा पोखिन ।
छोरी सनिजासँग अन्याय भएको भनेर ब्रहमपुर टोलका मुश्लिम समुदायका अगुवाहरुले साथ दिइरहेपनि हिंसा गर्ने नन्दमाथी अहिलेसम्म कुनै कारवाही भने नभएको आमा नजिराको गुनासो छ ।
हिंसा र “तलाक” को कुरा आएपछी आफूले सप्तरी जिल्ला अदालतमा अंश र मानाचामल मुद्दा हालेको सनिजाले बताएकी छिन् । उनले श्रीमानले दिएको तलाकनामा फिर्ता र उनीसँगै सुरक्षितसाथ बस्ने वातावरण बनाइदिने समेत सबैसँग आग्रह गरेकी छिन् ।
उक्त प्रकरण बारे सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले दुबै पक्षलाई झिकाई समस्या समाधानको प्रयास थालिएको जनाएका छन् ।