न्यूज टुडे
राजविराज, ११ माघ ।
प्रहरीले गिरफ्तार गरी हाजिर जवानीमा रिहा भइ उपचाररत नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार तथा प्रेस मञ्च नेपालका उपमहासचिव वैद्यनाथ यादवलाई कुनै पार्टीका नेताले फसाउने षड्यन्त्र गरेको प्रेस मञ्च नेपालले आरोप लगाएका छन् । मञ्चका केन्द्रीय कार्यबाहक अध्यक्ष मनोज कुमार यादवले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् ।

‘पछिल्लो समय केही दिन यता कुनै पार्टीका नेताले वैद्यनाथ यादवलाई फँसाउनका लागि गरिरहेको षड्यन्त्र पनि जगजाहेर नै छ’, प्रेस मञ्च नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’सामाजिक संजालमा सार्वजनिक भएका स्टाटस र भिडियोहरुबाट पनि पत्रकार यादवलाई फसाउन एउटा समुह र तिनका कार्यकर्ताहरू लागि रहेको विषय लुकेको छैन ।’
कार्यबाहक अध्यक्ष यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रमाणसहित जाहेरी परेको भए अनुसन्धान हुनुपर्छ तर अनुसन्धानमा राजनितिक षड्यन्त्रको प्रभाव नपरोस् भनी सचेत गराइएको छ ।
‘पत्रकार यादवमाथि प्रमाणसहित जाहेरी परेको छ भने अनुसन्धान हुनुपर्छ। तर अनुसन्धानमा राजनैतिक षड्यन्त्रको प्रभाव नपरोस् भन्ने कुरा राज्यका निकायहरुलाई आग्रह गर्न चाहन्छौं’,विज्ञप्तिमा भनिएको छ,’तसर्थ यो विषयको निष्पक्ष र सुक्ष्म छानबिनको माग गर्दछु ।’
प्रेस मञ्चद्वारा जारी विज्ञप्तिमा यस विषयमा आवश्यक अनुसन्धान र पहलकदमीका लागि नेपाल पत्रकार महासंघ नेतृत्वलाई समेत गम्भीर बन्न आग्रह गरिएको छ ।
विरामी रहेका एभिन्यूज टेलिभिजनका सम्वाददाता पत्रकार यादवलाई पक्राउ गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उपयुक्त स्थानमा उपचार गर्ने बाताबरण मिलाइ दिने सबैलाई मञ्चले धन्यवाद समेत व्यक्त गरेको छ ।
‘विगत केही दिनदेखि विरामी रहदै आएका पत्रकार यादव प्रहरी हिरासतमै रहँदा स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य उपचार गर्न पाउने मौलिक हक अन्तर्गत हाजिरी जमानीमा रिहा गरेर उपयुक्त स्थानमा उपचार गराउने बाताबरण मिलाइदिनु भएकोमा सबैप्रती हार्दिक धन्यवाद ज्ञापन गर्दछु, कार्यबाहक अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’दोषी उम्कनु हुँदैन, निर्दोष फँस्नु हुँदैन भन्ने मान्यतामा प्रेस मञ्च नेपाल अडिग छ, स्वास्थ्य उपचार पश्चात् पत्रकार यादव कानूनी विषयमा सहभागी हुने नै छन् र हुनुपनि पर्दछ।’
स्वास्थ्य उपचारमा रहेको पत्रकार यादवको शिघ्र स्वास्थ्य लाभको कामना समेत मञ्चको केन्द्रीय समितिद्वारा जरी प्रेस विज्ञप्तिमा गरिएको छ ।