• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिला तथा अति विपन्न परिवारलाई कम्बल

ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिला तथा अति विपन्न परिवारलाई कम्बल
न्यूज टुडे
राजविराज, ०९ माघ । 
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ का ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिला, र अति विपन्न परिवारलाई बुधबार कम्बल वितरण गरिएको छ ।  शीतलहरबाट बच्न जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा न्यानो कम्बल वितरण गरेको हो। 
विभिन्न परिवारलाई कम्बल वितरण गर्दै एसपी खतिवडा । फोटो : न्यूज टुडे
प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालको अध्यक्षता  तथा  विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका वीच ९२ जनालाई न्यानो कम्बल वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष यादवले जाडोको कठ्याङ्ग्रिने चिसोमा गरिब र असहाय व्यक्तिहरूलाई सहयोग पुर्‍याउने यो कार्य सराहनीय रहेको बताए । उनले ठ्ण्डीको कहरमा सहयोग गरेको भन्दै  जिल्लाको दैवी प्रकोप व्यवस्थापन समिति र प्रशासनलाई धन्यवाद दिए।
कम्बल वितरणपछि सामुहिक तस्वीरमा । फोटो : न्यूज टुडे
सीडीओ भोला दाहालले जाडोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट बच्न यस्तो सहयोग कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले शीतलहरको मारमा परेका विपन्न वर्गका मानिसहरूलाई आवश्यक सहयोग निरन्तर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
विष्णुपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम यादवले यो सहयोगले स्थानीय ज्येष्ठ नागरिक र विपन्न परिवारलाई शीतलहरको कहरबाट राहत प्रदान हुने विश्वास व्यक्त गरे । यस प्रकारका सहकार्य र सहयोग कार्यक्रमले समाजका कमजोर वर्गप्रतिको दायित्व पूरा गर्न महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाई थियो।
जिल्ला प्रशासन कार्यालय सप्तरीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धान प्रमुख  अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला लगायतका उपस्थिति थियो।