न्यूज टुडे
राजविराज, ०४ माघ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले किसानले उत्पादन गरेको कृषि उपज विक्री गर्ने जिम्मा गाउँपालिकाले लिने भन्दै निर्धक्क व्यवसायीक खेती गर्न किसानहरूलाई आग्रह गरेकी छिन् । राष्ट्रिय कृषक महासंघ अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको बार्षिक पालिका परिषदको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

राष्ट्रिय कृषक महासंघ गाउँपालिका अध्यक्ष रमानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै उनले किसानहरूले निर्वाहमुखी खेती छोडेर व्यवसायीक खेती गर्नुपर्नेमा जोड दिइन् ।
‘किसानहरूले अहिले गरेको निर्वाहमुखी खेतीले किसानको लगानी र परिश्रम दुबै खेरा गइरहेका छ’, उपाध्यक्ष चौधरीले भनिन् ,’किसानहरूले अब व्यावसायिक खेती गर्नु आवश्यक छ, बजारको समस्याको चिन्ता नगरी उत्पादन बढाउनुस विक्री गर्ने जिम्मा गाउँपालिकाले लिन्छ।’

उनले किसानहरुलाई प्रोत्साहन गर्न कृषि विधुतीकरण, विधुत महसुल निशुल्क गरि किसानको पक्षमा गाउँपालिकाले काम गर्दै अएको जिकिर गरिन । मलखादको सहज आपूर्ति, सहुलियत मुल्यमा विउवीजन, आधुनिक कृषि उपकरण तथा कृषकहरुलाई गाउँपालिकाले अनुदान र प्रशिक्षण दिदै आएको उल्लेख गर्दै उनले किसानहरूले लगानीको अनुपातमा अझै उपलब्धि हाँसिल गर्न नसकेको टिप्पणी गरिन ।
उनले किसानहरूका लागि राज्यले दिने सेवा सुविधा उपलब्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन ।
कार्यक्रममा राष्ट्रिय कृषक महासंघ मधेस प्रदेशका सचिब यामुन यादव, लेखा संयोजक श्याम कुमार चौधरी, सप्तरी जिल्ला अध्यक्ष तेज नारायण यादव, पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी कृषि शाखा प्रमुख चन्द्ररेखा कुमारी यादव, अमसोत सामुदायिक कृषि सहकारी संस्था बेल्हाका व्यवस्थापक रामी यादव, वरिष्ठ कृषक काशीनाथ बन्जरा, सकुन्तला चौधरीले शुभकामना मन्तव्य व्यक्त गरे ।
बार्षिक परिषदमा कोषाध्यक्ष शिवानी कुमारी चौधरीले आर्थिक तथा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने महासंघकी केन्द्रीय सदस्य एवम् गाउँपालिका सहजकर्ता सुमित्रा कुमारी चौधरीले गाउँपालिकामा केयर नेपाल र गाउँपालिकाको साझेदारीमा संचालित बार्षिक कार्यक्रम बारे स्पष्ट पारिन ।
राष्ट्रिय कृषक महासंघ गाउँपालिकाकी सचिब टिकालक्ष्मी चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत सदस्य डम्बरी मगरले गरिन ।
गाउँपालिका महासंघ स्तरीय बार्षिक परिषदमा आव २०८१/०८२ का लागि बजेट, नीति, योजना तथा कार्यक्रम पारित गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।