• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ल्होछार जागरण अभियान सम्पन्न, तीनदिन विदाको माग

ल्होछार जागरण अभियान सम्पन्न, तीनदिन विदाको माग
न्यूज टुडे
राजविराज, ०२ माघ । 
नेपाल तामाङ घेदुङ सप्तरीद्वारा संचालित तामाङ जागरण तथा ल्होछार साँस्कृतिक अभियान सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष अशोक कुमार योन्जन तामाङको अध्यक्षता  तथा संघीय उपाध्यक्ष एवम् मधेस प्रदेश इन्चार्ज धर्म डुम्जन लामाको प्रमुख आतिथ्यमा बुधबार आयोजित एक समारोहको वीच अभियान समापन गरिएको हो । 
समापन समारोहमा पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि उपाध्यक्ष लामा । फोटो : न्यूज टुडे
सप्तरीको रुपनी  गाउँपालिका ६ स्थित मिलन चौकमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै लामाले अभियानले तामाङ समुदायको पहिचान, प्रतिनिधि र अधिकार सुनिश्चितताको लागि जारी संघर्षमा एकमत हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले तामाङ समुदायले विषेश महत्त्वकासाथ मनाउने ल्होछारपर्वमा ३ दिन राष्ट्रिय विदा दिनुपर्नेमा जोड दिए ।
समापन समारोहमा मञ्चासीन प्रमुख अतिथि संघीय उपाध्यक्ष लामासहित अतिथिगण । फोटो : न्यूज टुडे
‘तामाङ पूर्वजहरुले २८६१ बर्षदेखी ल्होछार पर्व मनाएको इतिहास अहिलेपनि जिवित छ’ उपाध्यक्ष लामाले भने, विक्रम सम्वतभन्दा ८ सय बर्ष पहिलेदेखि मनाएको संस्कृतिलाई सम्मान गर्दै घेदुङले कम्तीमा ३ दिन विदाको माग राखी संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको छौं । माघ शुक्ल प्रतिपदा अर्थात् सोनाम ल्होछारको पहिले दिनदेखि श्रीपञ्चमीको दिनसम्म ५ दिन राष्ट्रिय विदा दिनुपर्ने माग हो,यदी त्यति नभए ३ दिन राष्ट्रिय विदा हुनुपर्छ।’
उनले  जिल्ला घेदुङले स्थानीय तहमा संचालन गरेको तामाङ जागरण तथा ल्होछार साँस्कृतिक अभियान  उदाहरणीय रहेको बताउँदै यसबाट अन्य जिल्लाहरुले पनि पाठ सिक्नुपर्नेमा जोड दिए । अभियानले तामाङ समुदायको संस्कार र संस्कृति जगेर्नामा मदत पुग्ने विश्वास गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले जिल्ला घेदुङको प्रशंसा गर्दै अभियानलाई आगामी बर्षहरुमा समेत निरन्तरता दिन आग्रह गरे । 
अभियान संचालन गरेकोमा खुशी व्यक्त गर्दै घेदुङका मधेस प्रदेश इन्चार्ज समेत रहेका उपाध्यक्ष लामाले अभियानको उदेश्य प्राप्तिका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।उनले ल्होछार पर्वलाई हर्सोल्लासकासाथ मनाउन  तामाङ समुदायलाई आग्रह गरे ।  उपाध्यक्ष लामाले तामाङ समुदायलाई सोनाम ल्होछारको पहिलो दिनदेखि श्रीपञ्चमीसम्म पाँचदिन मान्यजनको हातबाट टीका खदा ग्रहण गरि ल्होछार मनाउन आग्रह गरे ।
संघीय सदस्य भिम घिसिङले ल्होछार पर्व तामाङ जीवनको अभिन्न चाड भएकोले यसलाई विधिपूर्वक मनाउनु पर्नेमा जोड दिए । ल्होछारको औचित्यता ,महत्त्व र विशेषता बारे चर्चा गर्दै उनले ल्होछार मान्नले परिवारमा सुख,शान्ति, समृद्धि तथा सधै भलो हुने उल्लेख गरे । उनले अभियानले तामाङ समुदायलाई थप एकजुट गराउन बल पुगेको भन्दै जिल्ला घेदुङ तथा अभियानलाई सार्थक तुल्याउन प्रत्येक्ष तथा अप्रत्यक्ष रुपमा अतुलनीय योगदान गर्ने सम्पूर्ण अभियानतालाई धन्यवाद व्यक्त गरे । 
समापन समारोहमा घेदुङका पूर्व केन्द्रीय सदस्य खड्ग बहादुर तामाङ, मेख बहादुर बम्जन, जिल्ला सदस्य मान बहादुर योन्जन, लघुमाया तामाङ, राम बहादुर योन्जन, किरात राई यायोख्खा सप्तरीकी कोषाध्यक्ष उर्मिला राई, नेपाल तामाङ विद्यार्थी घेदुङ मधेस प्रदेशकी उपाध्यक्ष मन्दिरा योन्जन , नेपाल तामाङ साँस्कृतिक घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर तामाङ, राजविराज नगरपालिकाका अध्यक्ष देवेन्द्र घिसिङ, रुपनी गाउँपालिकाकी अध्यक्ष भद्र कुमारी लामा, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका पूर्व  अध्यक्ष सन्जमान तामाङलगायतका विभिन्न स्थानीय तहका अध्यक्षहरु तथा तामाङ अगुवाहरुको साथै विभिन्न संघसंस्थाका स्थानीय पदाधिकारीको उपस्थिति रहेको थियो । 
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत सचिब डिक बहादुर मोक्तानले गरे भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङले अभियानको उदेश्य बारे प्रकाश पारे । 
तामाङ समुदायको प्रमुख साँस्कृतिक पर्व २८६१ औं सोनाम डुल ल्होछार ( सर्प) बर्ष माघ १७ गते परेको हुँदा तामाङ समुदायलाई ल्होछारको विशेषता र महत्व बारे जनजागरण गराउने उदेश्यले ल्होछार साँस्कृतिक जागरण अभियान संचालनमा ल्याएको  जिल्ला अध्यक्ष  तामाङले बताए । पुस १८ गते सप्तकोशी नगरपालिकाबाट सुरु भएको अभियान बुधबार समापन भएको उनले जानकारी दिए । 
अभियान अन्तर्गत पुस १८ गते सप्तकोशी नगरपालिकामा, १९  गते कञ्चनरुप नगरपालिकामा, पुस २० गते अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ मोहनपुरमा, २२ गते अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजारमा ,पुस २३ गते रुपनी गाउँपालिका, पुस २६  गते शम्भुनाथ नगरपालिकामा, पुस २७ गते खडक नगरपालिकामा अभियान संचालन गरी  १३ औं दिन सम्पन्न गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।