लागू औषध विरुद्ध सप्तरी प्रहरी एक्सनमा उत्रिएपछि ठुलो परिणाममा प्रतिबन्धित लागू औषध गाँजा पक्राउ पर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा राजविराजमा आइतबार पत्रकार सम्मेलन गरी शनिबार ६ सय ७० किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको जानकारी गराएको हो ।
प्रहरीद्वारा बरामद गाँजा । फोटो : न्यूज टुडे
पत्रकार सम्मेलन मार्फत पछिल्लो समय नियन्त्रणमा लिएको लागूऔषध गाँजा सार्वजनिक गर्दै सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले लागूऔषध नियन्त्रणमा प्रहरी प्रतिबद्ध रहेको बताए । लागूऔषध गाँजा तस्कर गिरोह सक्रिय रहेको सूचनाको आधारमा शंकास्पद स्थानहरुमा प्रहरी सक्रियता बढाउनसाथ ठुलो परिणाममा लागूऔषध गाँजा पक्राउ पर्न थालेको उनले बताए ।
उनले पछिल्लो समय सप्तरी बलानविहुल गाउँपालिका वडा नम्बर १ बलान पट्टी स्थित पूर्वपश्चिम हुलाकी मार्गदेखी अन्दाजी १५० मीटर उत्तरतर्फ परालले छोपिएको अवस्थामा शनिबार उक्त लागूऔषध गाँजा बरामद भएको जानकारी दिए ।
लागूऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विषेश सूचनाको आधारमा प्रहरी चौकी मौवाहाबाट प्रहरी सहायक निरीक्षक हेमन्त तामाङ नेतृत्वमा प्रहरी टोली खटी गई खोजतलास गर्दा बालनपट्टी ( कमलदाहा) स्थित खेतमा रहेको परालको थुप्रोमा लुकाई छिपाईराखेको अवस्थामा गाँजा नियन्त्रणमा लिएको एसपी ढकालले जानकारी दिए ।
बरामद गाँजा जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको तथा बरामद गाँजा नष्ट गरिने पत्रकार सम्मेलनमा एसपी ढकालले बताए । एसपी ढकालले गाँजा तस्करहरुको खोजीका लागि सूक्ष्म अनुसन्धान अगाडि बढाएको तथा संलग्नहरु चाँडै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा डिएसपी जितेन्द्र कुमार बस्नेत, गाँजा बरामदको नेतृत्व गर्ने प्रहरी चौकी मौवाहाका प्रहरी सहायक निरीक्षक हेमन्त तामाङसहितका प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृतहरुको समेत उपस्थिति थियो ।
सप्तरीमा प्रहरी प्रमुख ढकाल र डिएसपी बस्नेत आएपछि धमाधम ठुलो परिणाममा गाँजासहित अन्य लागूऔषध बरामद हुन थालेको छ ।