• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लोकेन्द्र बुढाथोकी स्मृतिबाट अरुण र बाताबरण पत्रकारिता पुरस्कारबाट अर्चना पुरस्कृत

लोकेन्द्र बुढाथोकी स्मृतिबाट अरुण र बाताबरण पत्रकारिता पुरस्कारबाट अर्चना पुरस्कृत
न्यूज टुडे
राजविराज, २६ पुस ।
सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दैआएका दुई जना पत्रकार शुक्रबार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीले स्थापना गरेको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार अरुण कुमार यादव र महासंघका पुर्व सभापति बैधनाथ झाले स्थापना गरेको बाताबरण पत्रकारिता पुरस्कारबाट अर्चना दर्जी सम्मानित भएका हुन् ।
पुरस्कार प्रदान गर्दै मुख्य न्यायाधीश ज्ञवाली । फोटो : न्यूज टुडे
 रासस सप्तरी प्रतिनिधि समेत रहेका यादवलाई कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत राजविराज- जनकपुर इजलासका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले नगद ५ हजार ५ रुपैयाँसहित यो पुरस्कार प्रदान गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाद्वारा आयोजित ३१औं लोकेन्द्र स्मृति दिवसको अवसरमा आयोजित एक समारोहका बिच मुख्य न्यायाधीश ज्ञवालीले नगद राशी, गम्छा र प्रमाण पत्रसहित यादवलाई सम्मान गरे।
मुख्य न्यायाधीश ज्ञवालीबाट सम्मान ग्रहण गर्दै पत्रकार दर्जी । फोटो : न्यूज टुडे
सप्तरीको हनुमान नगरपालिका नगरपालिका वडा नम्बर २ निवासी राससकर्मी यादव करिब एक दशकभन्दा अगाडिदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका कार्य समिति सदस्य समेत रहेका उनी नेपाल प्रेस युनियन सप्तरी जिल्ला सदस्य हुन् ।
यसैगरी सोही समारोहमा आजको वातावरण दैनिकका सम्पादक एवम् नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति बैधनाथ झाले स्थापना गरेको वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार अर्चना दर्जीलाई सम्मानित गरिएको छ । सप्तरीको सप्तकोसी  नगरपालिका वडा नम्बर ४ निवासी दर्जी  सप्तरीलाई कार्यक्षेत्र बनाएर हिमालय टायम्समा कार्यरत छन् ।
कार्यक्रममा मञ्चासीन प्रमुख अतिथि मुख्य न्यायाधीश ज्ञवाली । फोटो : न्यूज टुडे
सप्तरीका एक जना यूवा पत्रकारलाई हरेक वर्ष प्रदान गरिंदै आएको यो पुरस्कार राजविराजबाट प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक÷सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले स्थापना गरेको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि मुख्य न्यायाधीश  ज्ञावली र प्रकाशक÷सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी झाले  संयुक्त रुपमा प्रदान गरे । 
उक्त पुरस्कार प्रत्येक वर्ष पुस २६ गते उमा सिंह स्मृति दिवसको अवसर पारेर वितरण गरिँदै आएको पुरस्कारका संस्थापक झाले जानकारी दिए ।
नेपाल महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्य न्यायाधीश ज्ञवालीले सप्तरीको पत्रकारिता देशमा प्रशंसा योग्य रहेको बताए । पत्रकारिताको माध्यमबाट विभिन्न चुनौतीको सामाना गर्दै सामाजिक रुपान्तरणमा अतुलनीय योगदान पत्रकारहरुले गरिरहेको उल्लेख गर्दै  उनले स्वच्छ सत्यतथ्य निर्भिकताको साथ सदाचारयुक्त सत्यको खोजी गरी समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
‘पत्रकारिता नागरिकसंग जोडिएको विषय हो, सत्यतथ्यको खोजी गर्ने पत्रकारलाई सुरक्षा चुनौती पनि छ’ मुख्य न्यायाधीश ज्ञवालीले  भने,’ स्वच्छ, निर्भीक, तथ्यपूर्ण न्याय सम्पादन गर्ने समाचार सम्प्रेषणमा चुनौतीपूर्ण छ।’ 
पत्रकारहरुको पक्षमा आफुले पनि निरन्तर काम गरिरहेको बताउँदै ज्ञवालीले पत्रकारहरुले विश्वासनीयता, सबैले पत्याउने र राम्रो पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता कुमारी साह , राजु विश्वकर्मा,नेपाल पत्रकार महासंघका पुर्व सभापति बैधनाथ झा, लोकेन्द्र बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार छनौट समितिका संयोजक  एवम् पूर्व सभापति  मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह ,वरिष्ठ पत्रकार अनिल कुमार अनल, सल्लाहकार बैधनाथ यादव, लगायतकाले मन्तव्य व्यक्त गरे ।
यसैगरी प्रेस मंच सप्तरीका अध्यक्ष भुषन कुमार सिंह , नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिजय लाल कर्ण , प्रेस सेन्टर सप्तरीका अध्यक्ष विन्दु यादव, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेललगायतकाले समेत मन्तव्य व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका सह सचिव डम्बर राईद्वारा संचालित कार्यक्रमम स्वागत उपाध्यक्ष राम नारायण विश्वासले गरे भने पूर्व सल्लाहकार मनोहर कुमार पोखरेलले लोकेन्द्र बुढाथोकीको जिवनी बारे चर्चा गरे ।