जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस-कम्युनिस्ट राजामहाराजको शैलीमा उत्पीडित जातिसमुदायमाथि शासन गरिरहेको बताएका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ र ३ क्षेत्रीय समितिद्वारा विष्णुपुर गाउँपालिका १ प्रसाहीमा बिहीबार आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितता उत्पीडित समुदायको नेतृत्वमा मात्र सम्भव रहेको बताए । उनले खस, आर्यको नेतृत्वमा मधेसी, आदिवासी जनजाति, थारु, मुश्लिम, दलित, महिलासहित उत्पीडित समुदायको मुक्ति असम्भव रहेको जिकिर गरे ।
अध्यक्ष यादवले राजा र राणा पछि खस -आर्यको शासनकालमा मधेसी आदिवासी, मुश्लिम, दलित, महिलाको हक अधिकार खोस्ने बाहेक अन्य कुनै उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गरे ।
आसमानता, अपमान विरुद्ध शोसित पीडित एकजुट भएर लडाइ लड्नुपर्नेमा जोड दिदै अध्यक्ष यादवले समानता, स्वतन्त्रता र सामाजिक न्याय र विभेदको अन्त्यका लागि संघर्षको विकल्प नभएको उल्लेख गरे ।
अभिमुखिकरण कार्यक्रममा सहभागी जसपा नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
‘सैकडौ बर्षदेखि उत्पीडित समुदायमाथि भएको हेपाहा प्रबृत्ति, आसमान भेदभाव, अपहलेनाबाट मुक्तिका लागि एकताबद्व भएर अगाडि बढ्नुपर्छ’, उनले भने,’सम्मान, स्वाभिमान र प्रतिष्ठा कायम गर्न सबै संगठित भएर अगाडि बढ्नुपर्छ ।’
एकल जातीय निरङ्कुश शासन व्यवस्था अन्त्यका लागि संघर्षको विकल्प नरहेको उनको भनाइ थियो ।
अध्यक्ष यादवले काँग्रेस- एमाले नेतृत्वको सरकारले देशलाई संसार भरी दरिद्र र भ्रष्टाचारीको रुपमा चिनाउने काम बाहेको विकासको कार्य गर्न नसकेको टिप्पणी गरे । भ्रष्टाचारीलाई संरक्षण गर्न देशका ठूलो दुईपार्टी एमाले काँग्रेस मिलेर सरकार बनाएको आरोप लगाउँदै अध्यक्ष यादवले कांग्रेस-कम्युनिस्टको नेतृत्वमा सरकार रहेसम्म देशमा सुशासन, समृद्धि र विकास हुन नसक्ने दावी गरे।
देशमा थोरैभएपनि उत्पीडित समुदायले अहिले पाएको अधिकार र प्रतिनिधित्व मधेस विद्रोहको बलमा आएको बताउँदै अध्यक्ष यादवले संविधान संशोधनको नाममा प्राप्त पहिचान,प्रतिनिधि र अधिकार खोस्ने प्रयास भइरहेकोले सचेत रहन आग्रह गरे ।
मधेसी, आदिवासी जनजाति लगायतका उत्पीडित समुदायको पहिचान, प्रतिनिधित्व, अधिकारको रक्षा तथा महिला, विपन्न बर्गमाथिको असमानता विरुद्ध जसपा नेपाल संघर्षरत रहेको उल्लेख गर्दै यादवले प्राप्त अधिकार रक्षा र थप अधिकारका लागि आन्दोलनमा जुट्न नेताकार्यकर्तालाई निर्देशन दिए ।
उनले शासन, प्रशासनमा सम्मानजनक सहभागीताका लागि शोषक र शासित वीचको पर्खाल रहेसम्म कायमै रहने भन्दै त्यसको अन्त्यका लागि जसपा नेपाल दृढ संकल्पको साथ अगाडि बढेकाले सम्पुर्ण न्यायप्रेमीहरुको साथ सहयोग पाउने विश्वास व्यक्त गरे ।
जसपा नेपालका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले पहिचान र अधिकार सुनिश्चितताको लागि संगठित हुनुपर्ने बताए । कसैलाई मन्त्री, मेयर, वडा अध्यक्ष बनाउने मात्र पार्टीको अन्तिम लक्ष नभएको उल्लेख गर्दै उनले देशमा बसोबास गरेका सम्पुर्ण जातजातिले शासन र प्रशासनमा सम्मानजनक रुपमा बराबरी सहभागीता नभएसम्म संघर्ष जारी राख्नुपर्नेमा जोड दिए ।
केन्द्रीय सचिब शैलेन्द्र प्रसाद साहले जनमत नेतृत्वको सरकारले प्रदेशको विकासीय भौतिक संरचना समाप्त गर्न लागेको आरोप लगाए । उनले त्यसको उदाहरणका लागि मधेस कृषि विश्वविद्यालयसहितमा गरेको चालू आवको बजेटमा भारी कटौती गरेकोबाट प्रष्ट भएको बताए ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का अध्यक्ष कमलदेव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्व प्रदेशसभा सदस्य विदेश्वर प्रसाद यादव( विक्की), केन्द्रीय सदस्य भिमराज यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, उपाध्यक्ष एवम् विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले समेत विचार व्यक्त गरेका थिए।
युवा नेता सुभाष यादवद्वारा संचालित कार्यक्रममा स्वागत जसपा नेपाल निर्वाचन क्ष्रेत्र नम्बर २ का अध्यक्ष नारायण यादवले गरेका थिए ।
अभिमुखिकरण कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ र ३ अन्तर्गतका केन्द्र, प्रदेश, जिल्ला, संघीय निर्वाचन क्ष्रेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह, वडा तथा बुथ समितिका पदाधिकारीहरुको सहभागीता थियो ।