न्यूज टुडे
राजविराज, २२ पुस ।
‘पैसा डबल गर्दिने’ लोभ देखाएर दर्जनौं ब्यक्तिबाट करोडौं ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानी भनिने रामबहादुर रजकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा राजविराजमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि उनलाई सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सप्तरीका प्रहरी प्रमुख एसपी ढेकेन्द्र खतिवडाले पैसा डबल गर्ने धन्दा चलाएको आरोप लागेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा टोलका रजकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।
उनलाई आइतबार गाउँबाटै नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखेको एसपी ढकाले जानकारी दिए । उनी विरुद्ध तीनजना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
वर्षौदेखि ठगी धन्दामा संलग्न भएको भन्दै गुनासो र उजुरी समेत परेपछि अनुशन्धानका लागि पक्राउ गरिएको पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख एसपी खतिवडाले जानकारी दिए। एसपी खतिवडाले अन्य व्यक्ति ठगिएको भए जिल्ला प्रहरी कार्यालयमा प्रमाणसहित उजुरी दिन पत्रकार सम्मेलन मार्फत आग्रह समेत गरे ।
रजकले पहिले थोरै रकम लिएर डब्बल दिने गरेको तथा १०/ २० लाख लिएपछि सम्पर्कविहीन हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी ढकालले बताए । उनीमाथि अनुसन्धानपछि पुन: पत्रकार सम्मेलन गरि थप जानकारी गराउने उनले पत्रकार सम्मेलनमा बताए।