उत्तम आचार्य
कन्चनरुप ,२१ पुस ।
तिलगंगा कन्चनरुप सर्जिकल आँखा केन्द्र रुपनगरले सप्तरीको रूपनगरमा सेवा शुरू गरेको एक वर्ष पुग्नै लाग्दा दुई हजार चार सय भन्दा वढी नागरिकलाई आँखा उपचार सेवा दिएको छ। तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंले रुपनगरमा आँखाका बिरामिको ठुलो चाप देखेर शाखा कार्यालयको स्थापना गरेको हो ।
गत वर्ष माघ १९ गते औपचारिक रूपमा आरम्भ गरिएको यो आँखा अस्पतालमा आँखा जाँचका साथै चश्मा जाँच, चश्मा बनाउने, आँखा स्वास्थ्य सम्बन्धी परामर्श लगायत सामान्य अप्रेशन समेत हुने गरेको केन्द्रले जानकारी दिएको छ।
केही वर्षदेखि वार्षिक रूपमा सञ्चालन हुने गरेको निशुल्क आँखा शिविर यस वर्षदेखि आवधिक रूपमा चलाइनेछ। यही मङ्सीर दोश्रो हप्ता सञ्चालित निशुल्क आँखा शिविरमा एक हजार भन्दा वढी व्यक्तिको आँखा जाँच गरिएकोमा ४ सय ६ जनाको मोतिबिन्दुको अप्रेशन समेत गरिएको तथ्याङ्क आँखा केन्द्रका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । आँख शिविरका लागि तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँबाट विशेषज्ञ डाक्टरहरू आउने गरेको उनले बताए ।
आँखा उपचार सेवा दिइराखेको यो अस्पतालले स्वास्थ्य स्वयम् सेविका र विद्यालयका शिक्षक/शिक्षिकाहरूलाई समेत तालिम दिएको छ। अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता अनिल साउदका अनुसार भर्खरै यस्तो दुई वटा तालिम गरियो।
‘३० जना स्वास्थ्य स्वयम् सेविका र सरकारी विद्यालयका ३३ जना शिक्षक/शिक्षिकालाई आँखा स्वास्थ्य सम्बन्धी तालिम दियौँ। हामीले तालिम दिएकाहरू अहिले गाउँ र विद्यालयमा सामान्य आँखा जाँच गर्न थाल्नु भएको छ,’ साउदले भने।
तिलगंगा आँखा प्रतिष्ठान, कञ्चनरूप नगरपालिका र कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रको सहकार्यमा रूपनगर चोकमा सञ्चालित यो अस्पतालमा आइतबारदेखि नयाँ प्रमुख आएका छन्। बरिष्ठ नेत्र सहायक धर्मराज यादवले आइतबारदेखि पदभार ग्रहण गरेसँगै बरिष्ठ नेत्र सहायक चन्द्रकान्त चौधरी सरूवा भएर विदा भएका छन् ।
आइतबार अस्पतालमा आयोजित छोटो कार्यक्रममा यादवलाई स्वागत तथा चौधरीलाई विदाइ गरिएको केन्द्रले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रका अध्यक्ष अमर श्रेष्ठले कुशल स्वास्थ्य सेवा दिएको साथै सफलतापूर्वक आँखा शिविर सञ्चालन गरेकोमा चौधरीज्यूलाई धन्यवाद ज्ञापन गर्दै नयाँ आएका भएका यादवलाई स्वागत् गरे।
कार्यक्रममा रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले तिलगंगा आँखा प्रतिष्ठानको व्यानरमा तपाईँहरूले हाम्रो गाउँलाई दिइराख्नु भएको स्वास्थ्य सेवा विशिष्ट छ भन्दै आगामी दिनमा यो सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।