• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा एकमहिना अगावै सोनाम ल्होछारको रौनक

सप्तरीमा एकमहिना अगावै सोनाम ल्होछारको रौनक
न्यूज टुडे
राजविराज, २० पुस । 
सप्तरीमा एक महिना अगावै सोनाम ल्होछारको रौनकता देखिएको छ । नेपाल तामाङ घेदुङ सप्तरीले जिल्लाका स्थानीय तहमा संचालन गरेको ल्होछार जागरण अभियानले तामाङ बस्तीमा ल्होछारको रौनक छाएको हो । 
अभियानलाई आर्थिक सहयोग गर्ने स्थानीय सरोज रानालाई खदाद्वारा सम्मान गर्दै संघीय सदस्य घिसिङ । फोटो : न्यूज टुडे
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सप्तरीद्वारा संचालित तामाङ जागरण तथा ल्होछार साँस्कृतिक कार्यक्रममा तामाङ बस्तीमा पुग्दा ल्होछारको झल्को दिने गरेका छन् । अभियानमा ल्होछारकै गुनगुनाहट  बढी हुनाले पनि ल्होछार भित्रीएको आभास हुने गरेको अग्नीसाइर कृष्णासवर गाउँपालिका ६ की राधा तामाङले बताइन् । 
उनले अरु बर्षहरुमा ल्होछार आएको दिनमात्र थाहा पाउने गरेको सुनाउँदै यसपालि जागरण अभियानले गर्दा महिना दिन अगावै ल्होछारले छोपेको महुसुस भएको बताइन् । 
नेपाल तामाङ घेदुङ सप्तकोसी नगरपालिकाकाबाट  विहिबार नेपाल तामाङ संघीय सदस्य भिम घिसिङले उद्घाटन गरि सुरु भएको अभियान  तेस्रो दिन अग्नीसाइर कृष्णास्वरन ६ मोहनपुरमा पुगेका थिए । 
जागरण अभियानलाई  सम्बोधन गर्दै संघीय सदस्य घिसिङले लामो समयसम्म ल्होछार पर्व मनाउँदै आएपनि अहिलेसम्म तामाङ समुदायको घरमा भित्र्याउन नसकिएकोले यसको औचित्यता र आवश्यकता बारे सचेतना जगाउने उदेश्यले अभियानकै रुपमा अगाडि बढाइएको बताए ।  उनले अभियानलाई सार्थकता तुल्याउन जिल्लाबासी तामाङलाई सक्रियता पूर्वक अभियानमा जुट्न आग्रह गरे । 
राज्यको विभेदकरी नीतिका कारण तामाङ समुदाय पछाडि परेको उल्लेख गर्दै प्रमुख अतिथि संघीय सदस्य घिसिङले राज्यको विभेदपूर्ण नीति विरुद्ध आन्दोलनको रुपमा अभियान अगाडि बढाएको बताए ।  उनले तामाङ समुदायको हक अधिकार सुनिश्चितताका लागि शिक्षामा जोड दिए । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङले देशमा मनाइने अन्य चाडवाड जस्तै तामाङ समुदायले मनाउने ल्होछार पर्वलाई समेत स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । अभियानको उदेश्य बारे प्रकाश पार्दै उनले ल्होछार मनाउन राज्यबाट भेदभाव हुँदै आएकाले ल्होछार पर्वको प्रबर्द्धन र विकासका लागि तीनै तहको सरकारको ध्यानाकर्षण गराउने अभियानको मुख्य लक्ष रहेको उल्लेख गरे । उनले अभियानले तामाङ समुदायको संस्कृति संरक्षण, सम्बर्द्धनकोसाथै राष्ट्रिय एकतामा टेवा पुग्ने विश्वास व्यक्त गरे । 
अभियान अन्तर्गत साँस्कृतिक कार्यक्रम तथा ल्होछार पर्व सम्बन्धि विज्ञहरुले विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान सिंदन तामाङले बताए । 
तामाङ समुदायको प्रमुख साँस्कृतिक पर्व २८६१ औं सोनाम डुल ल्होछार ( सर्प) बर्ष माघ १७ गते परेको हुँदा तामाङ समुदायलाई ल्होछारको विशेषता र महत्व बारे जनजागरण गराउने उदेश्यले ल्होछार साँस्कृतिक जागरण अभियान संचालनमा ल्याएको उनले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार पुस १८ गते सप्तकोशी नगरपालिकाबाट सुरु भएको अभियान २९ गते सुरुङ्गा नगरपालिका २ स्थित बाउन्न कोल्टेमा पुगेर समापन हुने उनले बताए ।
अभियान अन्तर्गत पुस १८ गते सप्तकोसी नगरपालिका,१९  गते कञ्चनरुप नगरपालिका, पुस २० गते अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ मोहनपुर, २२ गते अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजार , पुस २४ गते रुपनी गाउँपालिका, पुस २५  गते शम्भुनाथ नगरपालिका, पुस २६ गते राजविराज नगरपालिका, पुस २७ गते खडक नगरपालिका, पुस २९ गते सुरुङ्गा नगरपालिकामा अभियान संचालन हुने अध्यक्ष तामाङले जानकारी दिए ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ स्थित सामुदायिक आधारभुत विद्यालय मोहनपुरको प्राङ्गणमा नेपाल तामाङ घेदुङ अग्नीसाइर कृष्णसवरन ६ का उपाध्यक्ष सुमन ग्लान तामाङको अध्यक्षतामा आयोजित जागरण अभियान उद्घाटन समारोहमा घेदुङका पूर्व केन्द्रीय सदस्य खड्ग बहादुर तामाङ,जिल्ला सदस्य अशोक कुमार योन्जन, लगुमाया तामाङ, मान बहादुर योन्जन , सीता बम्जन तामाङ,नेपाल तामाङ साँस्कृतिक घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर तामाङ, कञ्चनरुप नगरपालिकाका पूर्व अध्यक्ष गोपाल घिसिङ, अग्नीसाइर कृष्णासवरन अध्यक्ष भक्त बहादुर तामाङ, रुपनी गाउँपालिकाकी अध्यक्ष भद्र कुमारी लामा, आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका सचिव रामनाथ चौधरीलगायतका विभिन्न स्थानीय तहका अध्यक्षहरु तथा तामाङ अगुवाहरुको उपस्थिति रहेको थियो । 
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष सरिता योन्जनले  गरिन ।