न्यूज टुडे
राजविराज, १५ पुस ।
मधेस प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले बर्तमान व्यवस्था (ल्याउनु) परिवर्तनमा सञ्चारकर्मीहरुको अग्रणी भुमिका रहेको बताएका छन् । आम सञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा राजविराजमा सोमबार आयोजित साइबर सुरक्षा र ए. आई. सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले राजनीति परिवर्तनमा पत्रकारहरुको भुमिका अहम् रहेको बताए । उनले पत्रकारप्रति आमजनताको ठूलो आशा र भरोसासहित विश्वास रहेकोले थप जिम्मेवार, मर्यादित हुँदै बर्तमान प्रविधिको उपयोग गरि समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

लेखीले राजनीतिकसंगै सामजमा रहेको विकृति न्यूनीकरण गर्ने समाचारलाई प्राथमिकतामा राखी सामाजिक रुपान्तरणमा टेवा पुग्ने संदेशमुलक सामाग्री उजागर गर्न आग्रह गरे । आफ्नो ठाउँको आमूल परिवर्तनका लागि पत्रकारसहित स्थानीयको अहम् भुमिका रहने उनको भनाइ थियो । गणतन्त्रवादी नेता, मधेस आन्दोलनका नेता, आदिवासी तथा थारु आन्दोलनका नेता, जनयुद्धका नेतृत्व गर्ने नेताहरुको जन्मभुमि रहेको ऎतिहाँसिक जिल्ला सप्तरी रहेको स्मरण गर्दै मन्त्री लेखीले जिल्लाको अपेक्षित विकास हुन नसकेको भन्दै दुख व्यक्त गरे ।

पत्रकारको समस्या प्रति आफू अति सम्वेदनशील रहेको उल्लेख गर्दै मन्त्री लेखीले प्रदेशका पत्रकारहरुको लागि १ लाखको स्वास्थ्य विमा र ७ लाखको दुर्घटना विमा सुविधा सरकारले दिएको बताए । उनले चाँडै मधेस प्रदेशका अग्रज पत्रकारहरुलाई सरकारको तर्फबाट सम्मान गर्ने कार्यक्रम समेत राखिएको बताए ।
मधेस प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले देशमा पत्रकारहरुको महत्त्व अत्याधिक रहेको बताउँदै उनले कसैप्रति पूर्वाग्रही सोच तथा खराव मानसिकता नराखी पत्रकारिताको मुल मर्म र मान्यताबाट बिमुख हुनु नहुने विचार व्यक्त गरे । उनले निष्पक्ष ढंगले समाज परिवर्तनमा पत्रकारले भुमिका निर्वाहा गर्नुपर्नेमा जोड दिए ।
मधेस प्रदेश सदस्य किरण कुमारी साहले पवित्र उदेश्यकासाथ अभिमुखिकरण कार्यक्रम आयोजना गरिएकोले गम्भीरता पूर्वक लिएर ए.आई. को सकारात्मक उपयोग तथा दुरुपयोग रोक्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिन ।
सभापतित्वको आशनबाट बोल्दै आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कार्यक्रमको उदेश्य बारे प्रकाश पार्दै बढ्दो आधुनिकीकरणसंगै पत्रकारिता क्षेत्रमा अलग किसिमको प्रविधि प्रयोग हुँदै आएकोले सोही अनुसारको रुपान्तरण गर्नु जरुरी रहेकोले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बताए ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले कार्यक्रमले साइबर अपराध न्यूनीकरण गर्न मदत पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सल्लाहकार अवधेश कुमार झाले आर्थिक समस्याले पत्रकारहरुले आवश्यक उपकरणको अझै उपयोग गर्न नपाएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
आम सञ्चार प्राधिकरणका प्रशासकीय प्रमुख प्रशन्नराज कर्णद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले गरे ।
कार्यक्रममा साइबर अपराध र ए. आई. प्रविधिको महत्त्व र आवश्यकता बारे जीवन अधिकारी र प्रकाश मैनालीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सप्तरीको जिल्लालाई कार्यक्षेत्र बनाएर राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।