मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सहकारीहरु उत्पादन मुखी हुनुपर्ने बताएका छन् ।सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर१ स्थित रहेको त्रियुगा सहकारीको २३ औं बार्षिक साधारणसभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले कृषिलाई उत्पादनमा जोड्न सके हजारौं युवालाई रोजगारी दिन सकिने बताए। उनले मधेस रहेको मालखाद,बीउ बिजनको समस्या सहकारी मार्फत समाधान गरिने बताए। पछिल्लो समय सहकारीहरुका सञ्चालक भागेको कुरालाई राष्ट्र बैंक र सहकारी बैंकले अनुगमन गर्नुपर्ने उनले बताए। उनले मधेश प्रदेशमा करिब छ हजारको संख्यामा सहकारी रहेता पनि प्रदेश सरकारले अनुगमन गर्ने तर हस्तक्षेप नगर्ने बताए।
विशिष्ट अतिथि सप्तकोसी नगरपालिकाका मेयर कृष्ण प्रसाद ढकालले नगर भित्र उत्पादन भएका सामग्रीहरुलाई कोसेली घर र डिपार्टमेन्ट स्टोरमा राखेर बिक्री गरिने भएको हुनाले सहकारी र नगरपालिकाको समन्वयकारी भूमिका हुनुपर्ने बताए।
अध्यक्षीय प्रतिवेदन सार्वजनिक गर्दै सहकारीका अध्यक्ष चन्द्रशेखर चौधरीले आगामी वर्ष सप्तकोसी नगरपालिकाका प्रत्येक वडामा एक-एक ओटा वृदाआश्रम बनाइने,सहकारीका सदस्यहरुमा ब्रेन ट्युमरका बिरामी भए एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने,ऋण र बचत दुवैमा माघ देखि नै लागू हुने गरी एक-एक प्रतिशत व्याजदरमा घटाईने बताए। अध्यक्ष चौधरीले दुग्ध उत्पादनमा मिल्क होलिडेको अन्त गर्नका लागि सहकारीले५ सय मेट्रिकटन क्षमता भएको दूध चिस्यान भ्याटको व्यवस्था गरिने प्रतिवेदन प्रस्तुत गरे ।
सहकारीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका लेखा सुपरिवेक्षण संयोजक शम्भु प्रसाद फुयालले संस्थाले शेयरको हितमा काम गर्ने बताए। उनले आर्थिक वर्ष २०८१ / ८२ मा संस्थाको कुल पूंजी ७२ करोड २० लाख ४४ हजार ८ सय अठार र यो वर्ष संस्थाले ७९ लाख ७० हजार ५ सय ६७ रुपैयाँ खुद मुनाफा गरेको प्रतिवेदन सार्वजनिक गरे।
चार हजार एक सय सन्ताउन्न जना शेयर सदस्य रहेको संस्थाको हाल कंचनरुप र सप्तकोसी नगरपालिका कार्य क्षेत्र रहेको छ भने संस्थाले दूध,दूधजन्य परिकार, चोकर, पिठो, डिपार्टमेन्ट स्टोर , किसानका निम्ति खेत जोत्ने ट्याक्टर ,पशु बीमा सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।
कार्यक्रममा पूर्व साँस्द सत्यनारायण मण्डल, कंचनरुप नगरपालिकाका नगर प्रमुख ललन गुप्ता,सप्तकोसी नगरपालिकाकी नगर उपप्रमुख रिता चौधरी, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष विश्वनाथ न्यौपाने,जिल्ला ऋण तथा बचत संघका अध्यक्ष भगवती चौधरी,राष्ट्रिय सहकारी बैंकका निवर्तमान सञ्चालक ध्रुव नारायण यादव,राष्ट्रिय सहकारी बैंकका सञ्चालक विश्वनाथ मण्डल, जिल्ला सहकारी संघका अध्यक्ष विनोद दत्त लगाएतको उपस्थिति रहेको थियो।
व्यवस्थापक दीपक कार्कीद्वारा सञ्चालित कार्यक्रममा स्वागत उपाध्यक्ष विद्यानन्द महतोले गरेका थिए ।