न्यूज टुडे
राजविराज, १२ पुस ।
समाजसेवामा दुई दशकबढी निरन्तर सक्रिय समाजसेवी इन्जिनियर सूर्यनारायण यादव सम्मानित हुने भएका छन् । हेल्प नेपाल नेटवर्कद्वारा काठमाडौमा शनिबार एक कार्यक्रमको आयोजना गरि समाजसेवी इन्जिनियर यादवलाई सम्मान गर्ने भएको हो ।
धर्मीहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समेत रहेका समाजसेवी इन्जिनियर यादव शुक्रबार राजविराज विमान स्थलबाट काठमाडौ प्रस्थान गरेका हुन् । हेल्प नेपाल नेटवर्कले सम्मान गर्ने भनि निमन्त्रणा पठाएपछि काठमाडौ गएको समाजसेवी इन्जिनियर यादवले जानकारी दिए ।
समाजसेवी इन्जिनियर यादवले आगलागी पीडित, ठण्डीपिडित, बाढी पीडित, गरिव, विपन्न, अपाङ्ग , एकल महिला, बृद्धबृध्दा लगायतका जोखिममा परेकाहरुलाई दुईदशकभन्दा बढी समयदेखि निरन्तर सहयोग गर्दै आएका थिए । समाजसेवी इन्जिनियर यादव विपदको जोखिममा परेका व्यक्तिहरुप्रति समर्पित रही समाजसेवामा आफ्नो सम्पुर्ण जीवन समर्पण गरेकाले उनले गरेको योगदानलाई कदर गर्दै सम्मान गर्न लागिएको हेल्प नेपाल नेटवर्कले जनाएको छ ।
इन्जिनियर यादवले सरकारी जागिर छोडेर बुवा धर्मी यादव र आमा हल्फा यादवको स्मृतिमा क्लव स्थापना गरि निरन्तर दिनदुखीहरुको सेवा गर्दै आएका छन् । आमा-बुवाको सेवाभन्दा अरु कुनै ठूलो धर्म हुन नसक्ने मान्यता राखी स्वर्गीय आमा-बुवाको सेवामा समर्पित भई सक्रिय समाजसेवी इन्जिनियर यादव आगलागीलगायतका विपदको सूचना पाउँनसाथ पीडितको घरमै पुगेर राहत वितरण गर्ने पहिलो व्यक्ति हुने गर्छन् ।
पीडितको घरमै पुगेर सहयोग प्रदान गर्ने उनी सामाजिक रुपान्तरणका लागि बालबालिकालाई पढाइलेखाइ गर्न तथा विपदको जोखिम न्यूनीकरण जस्ता जनचेतनामूलक संदेश समेत प्रवाह गर्दै जातीय छुवाछूत तथा भेदभाव समाज परिवर्तनको बाधक भएकोले यसको उन्मुलन हुनुपर्ने सचेतनामुलक विचार बाँड्ने गर्छन् ।