• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ज्येष्ठ नागरिकका लागि विशेष कानूनी व्यवस्था छ : मुख्य न्यायाधीश ज्ञावली

ज्येष्ठ नागरिकका लागि विशेष कानूनी व्यवस्था छ : मुख्य न्यायाधीश ज्ञावली
न्यूज टुडे
राजविराज, ११ पुस । 
उच्च अदालत राजविराज-जनकपुरका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले ज्येष्ठ नागरिकका लागि विशेष कानूनी व्यवस्था रहेको बताएका छन् । ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरी र पूर्व कर्मचारी सेवा परिषद नेपालद्वारा राजविराजमा बिहिवार चौथो ज्येष्ठ नागरिक राष्ट्रिय दिवसको अवसरमा आयोजित विचार गोष्ठी तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
कार्यक्रममा मञ्चासीन मुख्य न्यायाधीश ज्ञावलीसहित सम्मानित ज्येष्ठ नागरिक । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै मुख्य न्यायाधीश ज्ञावलीले ज्येष्ठ नागरिकका लागि कानूनले विशेष व्यवस्था गरेपनि चेतनाको अभावले अझै प्रभावकारी सेवा लिन नसकेको बताए । 
‘ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार गर्ने सरकारी कर्मचारीलाई अरुलाई भन्दा ३० प्रतिशत कानूनले दण्डित गर्ने व्यवस्था गरेको छ, ‘मुख्य न्यायाधीश ज्ञावलीले भने,’ बाबुआमालाई गर्नुपर्ने व्यवहार  गरेन भने सार्वजनिक पद धारण गरेका व्यक्तिलाई अरुलाई भन्दा थप सजायको व्यवस्था कानूनमा छ, साथै मुद्दाको सुनुवाइ गर्ने क्रममा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने तथा  अन्यत्रबाट कानूनी सेवा लिन असक्षमहरुका लागि सरकारी प्रतिनिधि राखेर सेवा दिने व्यवस्था कानूनमा छ।’
उनले ज्येष्ठ नागरिकको हकअधिकारलाई मौलिक हकमा राखी नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको हक प्रदान गरेको बताए । 
मुख्य न्यायाधीश ज्ञावलीले समाजमा राम्रो शिक्षा र संस्कारको अभावले ज्येष्ठ नागरिकहरू जसबाट संरक्षित हुनुपर्ने हो उहीबाट प्रताडित हुनु परिरहेको बताए । 
ज्येष्ठ नागरिकलाई आफ्ना सन्ततिले हेर्ने दृष्टिकोणमा अझै सकारात्मक परिवर्तन आउन नसकेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि मुख्य न्यायाधीश ज्ञावलीले ज्येष्ठ नागरिकको स्याहारमा राम्रो गर्ने छोरा बुहारीलाई सम्मान गरि प्रेरित गर्न संदेश प्रवाह गर्न आवश्यक नीति ल्याउनु पर्नेमा जोड दिए ।  
जीवनको उतार्धमा समेत के गर्दा राम्रो हुन्छ भनी सोच राखेका ज्येष्ठ नागरिकलाई यस्ता सोचलाई सुनीदिने मान्छेको खडेरी र अभाव खड्किदै गएको प्रती मुख्य  न्यायाधीश ज्ञावलीले चिन्ता व्यक्त गरे । 
‘ज्येष्ठ नागरिक मुलुकको भार बन्नु भएन र सोच्नु पनि भएन, त्यसका लागि चिन्तनमा परिवर्तन हुनुपर्यो’ उनले भने, ज्येष्ठ नागरिक भार होइनन् हाम्रो सम्पत्ति हो, गहना हो,देशको सम्पदा र जीउँदो इतिहास हो ।’
ज्येष्ठ नागरिक देश र समाजको मार्गदर्शक रहेकोले उनीहरुको राज्यले उचित रेखदेख र सम्मान गर्नुपर्ने उनको भनाइ थियो । 
ज्येष्ठ नगरिक जिल्ला संघ सप्तरीका अध्यक्ष रामनरेश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा सेवा निबृत्त राष्ट्रसेवक कर्मचारी संघ सप्तरीका अध्यक्ष प्रयागलाल यादव,सामुदायिक सेवा केन्द्र सप्तरीका पूर्व अध्यक्ष हित नारायण लाल दास, नेपाल राष्ट्रिय मरवाडी महिला परिषदकी उपाध्यक्ष मञ्जु सारदा,नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझी, सम्मानित व्यक्ति नित्यनन्द देव, ज्येष्ठ नागरिक सत्यनारायण देव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
ज्येष्ठ नगरिक जिल्ला संघ सप्तरीका सचिब वरिष्ठ पत्रकार वैद्यनाथ झाद्वारा संचालित कार्यक्रममा स्वागत पूर्व कर्मचारी सेवा परिषद नेपालका अध्यक्ष दिगम्वर यादवले गरे । 
उक्त अवसरमा ५ जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।