बालविवाह न्यूनीकरणका लागि नेपाल प्रहरीहरूसंग जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम राजविराज स्थिति जिल्ला प्रहरी कार्यालयको सभा हलमा मंगलबार सम्पन्न भएको छ । बालविवाह विरूद्ध प्रदेश स्तरीय संजालको सहयोग परिकल्पना नेपाल तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
बालविवाह न्यूनीकरण सम्बन्धि अन्तरक्रियामा सहभागी प्रहरी । फोटो : न्यूज टुडे
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले पहिलेको तुल्नामा अहिले बालविवाह गर्न अभिभावकहरू डराएपनि फौजदारी कसुर अन्तरगर्त रहेकोले बालविवाह हाम्रो समुदायको अझै ठूलो चुनौतीको रूपमा रहेको बताए । उनले अशिक्षा,चेतना,गरिवी तथा दाईजोको कारणले सबैभन्दा बढी बालविवाह हुँदै आएकाले यसको न्यूनीकरणका लागि शिक्षा र चेतना मुलक कार्यक्रममा जोड दिए ।
डिएसपी बस्नेतले मधेस प्रदेशमा सबैभन्दा बढी बालविवाह हुँदै आएको तथ्यांक भएपनि बालविवाहको उजुरी एकदमै न्यून आउने गरेको बताए । उनले जिल्ला प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा ५ वटा,२०८०/०८१ मा १ वटा र २०८१/०८२ मा अहिले सम्म १ वटा मात्र उजुरी परेको जानकारी दिए ।
आफ्नो छोरी आफुले भन्दा तल्लो जातको तथा कम पढेलेखेको विपन्न केटासँग विवाह गर्यो भने मात्र उजुरी आउने प्रवृत्ति रहेको डिएसपी बस्नेतले बताए ।
‘कित जात सानो भयो भने कित आफू भन्दा विपन्न भयो भने विपन्नलाई छोरी दिन नचाहेर उजुरी हुन्छ’ उनले भने,’शिक्षा र चेतनाको पहिले भन्दा अहिले विकास भएको छ । अहिले बालविवाह गर्न डराएका छन् ।’
कार्यक्रमका सहभागीहरूले बालविवाह न्यूनीकरणका लागि सबैले आआफ्नो ठाउँबाट वकालत गर्नुपर्ने जोड दिए ।
परिकल्पना नेपालको उपाध्यक्ष सुनिता परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष सुधा देवले बालविवाहको विषयमा सहजिकरण गरेकी थिईन् ।
कार्यक्रम संचालन सवाना प्रविणले गरेकी थिइन् ।कार्यक्रममा ३२ जना प्रहरीहरूको सहभागी रहेको थियोे ।