न्यूज टुडे
राजविराज, ०७ पुस ।
भर्खरै सम्पन्न भएको नेपाल प्रिमियर लिग क्रीकेट प्रतियोगिता( एनपिएल)को क्रममा जनकपुर टिमलाई समर्थनगर्नेहरु माथि भएको अश्लील र अपमानजनक व्यवहारमा संलग्नमाथि कारबाहीको माग गरिएको छ । जसपा नेपाल निकट समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनद्वारा आइतबार प्रमुख जिल्ला अधिकारीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
समाजवादी विद्यार्थी युनियन सप्तरीका अध्यक्ष संजय यादव र समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा पुगेको युवा विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।
युवा विद्यार्थीको ज्ञापनपत्र बुझ्दै प्रजिअ दाहालले माथिल्लो निकायमा तुरुन्तै पठाएर कारबाहीको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रजिअ दाहालले ज्ञापनपत्र बुझाएको भन्दै युवा, विद्यार्थीहरुलाई धन्यवाद समेत दिए ।
नेपाल प्रिमियर लिग क्रीकेट( एनपिएल) खेल भइरहँदा मधेसी समुदायलाई लक्षित गरी प्रत्येक्ष तथा अप्रत्यक्ष रुपमा अश्लील शब्द प्रयोग गरेको तथा फाइनल खेलमा मधेशी युवा तथा युवती उपर गरिएको आक्रमण र दुर्व्यवहार प्रति ज्ञापनपत्रमा घोर आपत्ति जनाइएको छ ।
ज्ञापनपत्रमा साम्प्रदायिक दंग भट्काउने जस्ता अमर्यादित कार्यमा संलग्नलाई अविलम्ब पक्राउ गरि कारबाही गर्न जोडदार माग गरिएको छ । मधेसी युवाहरुमाथि भएको यस्ता खाले आक्रमण अविलम्ब रोक्न सरकार र प्रशासनको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्रमा घटनालाई गम्भीर रूपमा नलिए थप संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा मविव क्याम्पसका सभापति रञ्जित यादवसहित स्ववियु पदाधिकारी, समाजवादी युवा संघ तथा विद्यार्थी युनियनका केन्द्र, प्रदेश, जिल्ला पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
ज्ञापनपत्र बुझाएपछि युवा विद्यार्थीहरुले मधेसी माथीको आक्रमण बन्द गर, घटना संलग्नमाथि कारबाही गर, सम्प्रादायिक सदभवमाथि खलल पुर्याउने कार्य बन्द गर भन्ने विभिन्न नारा जूलूस लगाउँदै नगरपरिक्रमा समेत गरेका थिए ।