• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तोकिएको अवधिमा सडक निर्माण नगर्ने व्यवसायीको ठेक्का सम्झौता रद्द गरिने

तोकिएको अवधिमा सडक निर्माण नगर्ने व्यवसायीको ठेक्का सम्झौता रद्द गरिने
न्यूज टुडे
राजविराज,०३ पुस । 
सप्तरी जिल्ला स्थित निर्माणाधीन तथा मर्मत भइरहेको सडक तोकिएको समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गर्नेतर्फ कारबाही अगाडि बढाइने भएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा राजविराजमा बुधबार बसेको सर्वपक्षीय बैठकले निर्माण कार्यमा ढिलासुस्ती गर्ने व्यवसायीको सम्झौता रद्द गर्नेतर्फ कारबाही अगाडि बढाउने निर्णय गरेको हो । 
सडकहरुको कार्यप्रगति तोकिए बमोजिम भए/नभएको मुल्यांकन गरी मार्किङ्ग गर्दै नकारात्मक भएमा आयोजना कार्यालयले ठेक्का सम्झौता र प्रचलित कानून बमोजिम ठेक्का रद्द गर्नेतर्फ कारबाही अगाडि बढाउने निर्णय गरिएको बैठकमा सहभागी जसपा नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले बताए । जिल्ला स्थित निर्माणाधीन तथा मर्मत भइरहेको सडक तोकिएको समयमा सम्पन्न गर्न सडक आयोजना कार्यालय तथा निर्माण व्यवसायीहरु नै जिम्मेवार रहने समेत निर्णय भएको उनले जानकारी दिए । 
जिल्ला स्थित निर्माणाधीन सडकहरूमा निर्माण कार्य सुचारु नहुँदा धुलो उडेको, खाल्डाखुल्डी भएको विषयमा स्थानीयको निरन्तर गुनासो आएकोले सर्वपक्षीय बैठकबसी यस्तो निर्णय गरिएको राजविराज  नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविनले बताइन् । निर्माण व्यवसायी र सम्बन्धित निकायले स्थानीयहरुको स्वास्थ्य समेतलाई मध्यनजर गर्दै नियमित रुपमा उक्त सडकहरुमा टंङ्करद्वारा पानी हाल्ने र सडकमा भएको खाल्डो पुर्ने मर्मत सम्भार गर्ने व्यवस्था मिलाउने कार्य गर्ने समेत बैठकबाट निर्णय गरिएको उनले जानकारी दिइन्   । 
बैठकमा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझी, कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता,तिरहुत गाउँपालिका अध्यक्ष विजय कुमार यादव, बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी,रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, सप्तरीका प्रहरी प्रमुख ढेकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पौडेल, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, निर्माण व्यवसायीका प्रतिनिधि, जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।